चीनमा रहेका नेपालीलाई फागुन ३ गते स्वदेश फर्काउन मन्त्रिपरिषदको निर्देशन, खरिपाटीमा राख्ने निश्चित

कोरोना भाइरसको चपेटामा रहेको चीनको युहानमा रहेका नेपालीलाई फागुन ३ गते स्वदेश फर्काइने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन ३ गते शनिबार चीनको कोरोना संक्रमित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फकाईने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

चीनबाट नेपाल ल्याइने विद्यार्थीलाई भक्तपुरको खरिपाटीमा राख्ने निश्चित भएको छ । चीनबाट नेपाल ल्याइने नेपालीलाई राख्नका लागि १ सय ९९ वटा ‘क्वारेन्टाइन’ कोठाहरु तयारी अवस्थामा राखिएको छ ।



स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि आवश्यक सबै तयारी पूरा गरिएको पनि बताए ।

चीनको कोरोना भाइरस प्रभावित क्षेत्रबाट एक सय ८५ जना नेपालीलाई वाइडवडी विमानमा एकैपटक स्वदेश ल्याइन लागिएको मन्त्री ढकालको भनाइ छ ।

चीनमा रहेका नेपाली स्वदेश ल्याउन ८६ जना स्वास्थ्यकर्मी तथा विमानका कर्मचारीलाई कोरोना भाइरसको विषयमा तालिम समेत दिइसकेको स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले जाकारी दिए । स्वदेश ल्याइने नेपालीमा कोरोना भाइरसको लक्षण देखिएमा विमानस्थलबाटै सिधै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगिने छ भने अन्य नेपालीलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने छ ।

सम्बन्धित समाचार