कोरोना संक्रमणको रोकथामका लागि चीनले गरिरहेको प्रयास प्रशंसनीय : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले कोरोना भाइरसको बारेमा सामाजिक सञ्जालले फैलाएको गलत हल्लाका पछि नलाग्न सबैलाई आग्रह गरेकी छन् । ट्रान्स हिमालय विकास केन्द्र र फ्रेण्ड्स अफ सिल्क रोडले बुधबार काठमाडौंमा आयोजना गरेको नोभेल कोरोना भाइरस विरूद्ध लड्न सहयोग तथा नेपाल चीन सम्बन्ध कार्यक्रममा सम्बोधन गर्दै मन्त्री अर्यालले यस्तो आग्रह गरेकी हुन् ।

मन्त्री अर्यालले नेपालमा जस्तो सुकै विपत्ति आउँदा सधैं चीनले सहयोग गर्दै आइरहेको स्मरण गराइन् । नेपाल चीन सम्बन्ध कसैले टुटाउन नसक्ने भन्दै उनले आजसम्म असल मित्रका रूपमा अगाडि बढिरहेको नेपाल चीन सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरिन् ।



अहिले चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणका रोकथामका लागि चीनले गरिरहेको प्रयासको प्रशंसा गर्दै मन्त्री अर्यालले चीनको यो प्रयासलाई विश्वभरमा आफूहरूले पनि सकारात्मक रूपमा प्रचार गर्ने प्रतिबद्धता जनाइन् । साथै उनले चीनलाई परेका संकट समाधानका लागि नेपाल सरकार सहयोग गर्न तयार रहेको बताइन् । चीनमा रहेका नेपाली विद्यार्थीसँग सरकार सम्पर्कमा रहेको भन्दै मन्त्री अर्यालले चीनमा रहेका नेपालीहरूलाई नेपाल ल्याउने अन्तिम तयारी भइरहेको जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनमा कोरोना भाइरसको संक्रमण शुरू भएदेखि नै त्यसका विरूद्ध चीन सरकारले ठूलो कदम चालेको बताइन् । विश्व स्वास्थ्य संगठनका मापदण्ड र अन्तरर्राष्ट्रिय नीति नियमलाई चीनले सफल रूपमा पालाना गरेको भन्दै राजदूत यान्छीले कोरोना भाइरसको सीमापार फैलावट रोक्न पनि चीन सर्तक रहेको बताइन् । साथै, उनले कोरोना भाइरसविरूद्धको अभियानमा नेपालले दिएको साथ र सहयोगले चीनलाई थप ऊर्जा प्रदान गरेको बताइन् ।

कार्यक्रममा पाठशाला नेपालका विद्यार्थीहरूले नेपाली र चिनियाँ दुवै भाषाको गीतबाट चीनको दुःखमा साथ दिन नेपालीहरू तयार रहेको सन्देश दिएका थिए भने नेपाल चीन सम्बन्धको बारेमा तयार पारिएको वृत चित्र समेत प्रस्तुत गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला, नेकपाका नेताहरू आनन्द पोखरेल, यज्ञराज सुनुवार, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मी, कलाकार, चिकित्सकलगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार