सिभिल बैंकले आफ्नो शाखा संजालमा विशेष महत्व दिने रणनीति अनुरूप बैंकले बारा जिल्लाको कलैयामा आफ्नो शाखा संचालनमा ल्याएको छ । आज एक कार्यक्रमका बीच सिभिल बैंकका संचालक समितिका सदस्य युगेशबहादुर मल्ल तथा कलैया उप–महानगरपालिकाका मेयर राजेशराय यादवले संयुक्त रूपमा सिभिल बैंक लिमिटेडको कलैया शाखाको समुद्घाटन गरे । सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिद्धेश्वर संस्कृत माध्यामिक विद्यालयलाई सिसिटिभि क्यामेरा पनि प्रदान गरेको कुरा बैंकबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
कलैया शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा कलैया उप–महानगरपालिकाका मेयर राजेशराय यादवले देशमा वित्तीय क्रान्तिको आवश्यकता रहेकोले आफ्नो नगरवासीलाई वित्तीय क्रान्तिमा लाग्न सुझाब दिँदै आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिन आग्रह गरे । उनले आफूसँग भएको सानो सानो पुँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न समेत आग्रह गरे ।
उक्त अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले गढ़िमाइ जस्तो पवित्र धार्मिक स्थल तथा देशको खाद्यान्नको प्रमुख उत्पादन हुने बारा जिल्लाको कलैयामा आफूले प्रशस्त अवसरहरू देखेको र आफूले बैंकको तर्फबाट यस क्षेत्रको अर्थतन्त्र उकास्नका लागि सम्पूर्ण बैंकिंग सेवा तथा सुविधाहरू प्रदान गर्ने बताए ।
उक्त समारोहका सभापति तथा सिभिल बैंकका संचालक समितिका सदस्य युगेशबहादुर मल्लले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता विना आर्थिक समृद्धि सम्भव नहुने बताए ।
सिभिल बैंकको हालसम्म ४१५,००० भन्दा बढी ग्राहकहरु रहेको, रु. ५२ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करिब रु. ५० अर्व कर्जा लगानी गरेको तथा यस बैंकको प्रदेश नं २ मा खोलिएको यस शाखासहित नेपालभर कूल शाखा संख्या १०८ पुगेकोे पनि बैंकको विज्ञप्तिमा उल्लेख छ ।