नवकान्तिपुर संवाददाता
काठमाडौं, १ फागुन ।
दिउँसोको समय रत्नपार्क अगाडिको सडकमा करिब १ सय मिटरको दुरीमा चार जना ट्राफिक खटिरहेका थिए । यति छोटो दुरीमा चार जना ट्राफिक भए पनि उनीहरूलाई जताततै बाटो काटिरहेका यात्रुहरूलाई सम्झाउन भ्याँइ नभ्याँइ थियो ।
यति नै बेला सडक पेटीमा हिडिरहेका एक जनाले आफूसँगैको साथीलाई सोध्यो ‘यहाँ के हुन लागेको छ यार, किन यति धेरै ट्राफिक ?’ ‘सायद प्रधानमन्त्रीको वा राष्ट्रपतिको सवारी होला’, अर्कोले भन्यो ।
रत्नपार्कबाट रानीपोखरी जान सडक पेटीबाट सडकमा झर्न लागेका उनीहरूलाई ‘हजुर पारी जान लाग्नु भएको हो ? हो भने, उ त्यहाँ जेब्रा क्रसिङ छ, त्यहाँबाट गइदिनुस् न है ।’
सडक छेउमा उभिएर पैदल यात्रुहरूलाई यही संवाद दोहोर्यारहेका ट्राफिक प्रहरी जवान निमबहादुर डम्बरपालले उनीहरूलाई जेब्रा क्रसिङ देखाउदै भने । त्यसपछि उनीहरूले जेब्रा क्रसिङबाट नै सडक पार गरे ।
मिठो बाली बोल्दै पैदल यात्रुलाई बाटो काट्न सचेत गराइरहेका ट्राफिक प्रहरी डम्बरपाल भन्छन् ‘मान्छेहरूलाई सधै डर त्रास देखाएर मात्र सम्झाउनुभन्दा मिठो बोलेर सम्झाउँदा उनीहरू पनि हामीले भनेको सजिलै स्वीर्काने गर्छन् । त्यसैले पनि मिठो बोल्दैमा के जान्छ र ? पहिलेदेखि नै मान्छेहरू जताततैबाट बाटो काट्ने भएकाले पनि अहिले उनीहरूलाई जेब्रा क्रसिङ र आकासेपुलबाट मात्र बाटो काट्नु पर्छ भन्ने बानी परेको छैन । तर यो समस्या अब विस्तारै सुधार हुँदै जान्छ ।’
त्यसैगरी, पैदल यात्रुहरूलाई जेब्रा क्रसिङबाट मात्र बाटो काट्नु पर्छ भनेर पैदल यात्रुहरूको एक समूहलाई छेवैमा सम्झाइरहेका थिए, ट्राफिक प्रहरी नायब निरीक्षक राजीव बिष्ट । ‘जताततै बाटो काट्ने पैदल यात्रुलाई यहाँ सम्झाई सकेपछि अर्को ठाँउमा बाटो काट्दाखेरि पनि उनीहरू सचेत हुन्छन्, जसले गर्दा सडक दुर्घटना न्युनीकरण हुन्छ,’ बिष्टले भने । उनले अभियानको बारेमा जानकारी दिँदै भने ‘ट्राफिक उज्यालो अभियानअन्तर्गत् हामीले उपत्यकाभरि नै ठाँउ ठाँउमा समूह समूह बनाएर पर्चा पम्पेलेट बाड्ने र सम्झाई बुझाई गर्ने काम गरिरहेका छौं ।’
समुदाय–प्रहरी साझेदारीअन्तर्गत् ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले पौष १ गतेबाट तीन महिने ‘ट्राफिक उज्यालो अभियान’ सुरु गरेको थियो । उक्त अभियानअन्तर्गत् रहेर ट्राफिक प्रहरी महाशाखाले समुदाय–प्रहरी साझेदारीमा आवद्ध पदाधिकारीसँग समन्वय गरी पर्चा, पम्पलेट, स्टिकर वितरण र श्रव्यदृश्य प्रदर्शनीमार्फत् ट्राफिक नियमबारे सचेतना दिने, सरकारी, सार्वजनिक भाडा र निजी क्षेत्रका चालकलाई पायक पर्ने ठाउँमा सचेतना कक्षा दिने तथा स्कुल–कलेजका विद्यार्थीलाई कलेज/विद्यालयमै गएर कक्षा लिनेलगायतका कार्यक्रम गरिरहेका छन् ।