एमसीसी कार्यदलको समय १० दिन थप

अमेरिकी अनुदान सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे अध्ययन गर्न सत्तारुढ दल नेकपाले गठन गरेको कार्यदलको समय थप गरिएको छ । गत माघ १९ गते नेकपाको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा प्रदीप ज्ञवाली र भीम रावल सदस्य रहेको कार्यदल गठन गरेको थियो ।

१० दिनको समय उपलव्ध गराइएको कार्यदलको समयसीमा हिजो(बुधवार) सकिएको थियो । कार्यदलका सदस्यहरुले १० दिनको अवधि एमसीसी सम्झौता बारेको अध्ययनमा व्यतित भएको भन्दै प्रतिवेदन तयार पार्न समय अपुग भएकाले थप समय माग गरेका थिए ।



नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ १० दिनका लागि कार्यदलको समय थप गर्न सहमत भएका हुन् ।
कार्यदलले पेश गरेको प्रतिवेदनमाथि पार्टीमा छलफल हुने यसअघि नै प्रचण्डले बताइसकेका छन् ।

प्रचण्डका अनुसार कार्यदलले पेश गरेको प्रतिवेदन हुबहु पास हुने भन्दा पनि त्यसलाई आधार मानेर निर्णय हुनेछ । प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीले भने एमसीसी सम्झौता भएको डेढ वर्षपछि अध्ययन कार्यदल बनाउनु पर्ने अवस्था आएको भन्दै असन्तुष्टि जनाएका छन् ।

उनले एमसीसी नेपालको हितमा रहेको र आफूहरु प्रतिपक्षमा रहँदै यसबारे अध्ययन गरिसकेको भन्दै थप अध्ययनको आवश्यकता नरहेको बताएका छन् ।

सम्बन्धित समाचार