करिब डेढ अर्ब लगानीमा होटल मोक्सी सञ्चालनमा आउँदै

निकट भविष्यमा नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँच तारे मेरियट र तीन तारे फेयरफिल्ड सञ्चालन ल्याइरहेको एसएस ग्रुपले नै उक्त होटल सुरु गर्न लागेको बुझिएको छ । अबको साढे २ वर्षभित्र सञ्चालनमा ल्याउने गरी साढे ३ तारेस्तरको मेरियटको मोक्सी होटल निर्माण प्रक्रिया अघि बढाइएको एमएस ग्रुपका उपाध्यक्ष सुमितकुमार अग्रवालले जानकारी दिए ।

‘काठमाडौंको कमलादीमा उक्त होटल निर्माणका लागि सम्पूर्ण प्रक्रिया अघि बढाइसकेका छौं ।’ अग्रवालले भने– ‘निर्माण प्रक्रिया अघि बढिसकेकाले अबको साढे २ वर्ष भित्रमा संचालनमा ल्याउने छौं ।’ उनका अनुसार उक्त होटल निर्माणका लागि ठेकेदार छनोट प्रक्रियासमेत अघि बढाइसकिएको छ ।



देशका मुख्य सहरहरूमा मेरियट होटल्ऽको चेन विस्तारको योजना बनाएको एमएस ग्रुपले काठमाडौंमा नै थप अर्को होटल खोल्न लागेको हो । कूल १ अर्ब ४० करोड रुपैयाँ लगानीमा बन्न लागेको सो होटल १० तलाको हुनेछ, जसमा न्यूनतम १०१ देखि ११५ कोठासम्म रहने पनि अग्रवालले जानकारी दिए ।

होटलमा १० वटा स्वीट रूम र बाँकी डिलक्स रूम रहनेछन् । नेपाल पर्यटकको लागि सबैभन्दा उपयुक्त गन्तव्य रहेको र नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउनका लागि आफ्नो कम्पनीले होटल विस्तारलाई उच्च प्राथमिकता दिएको समेत उपाध्यक्ष अग्रवालले बताए । ‘हामीले नेपाल घुम्न आउने सबै पर्यटकलाई उपयुक्त हुने खालका होटल निर्माण गरी सेवा दिन सक्नुपर्छ’ उनले भने, ‘सोहीअनुरूप हामीले देशमा मुख्य स्थानमा होटल खोल्ने प्रक्रियालाई उच्च प्राथमिकताका साथ अघि बढाएका छौं ।’

देशका मुख्य सहरहरूमा होटल खोल्नका लागि मेरियट ब्राण्डसँग सम्झौता गरेको एमएस ग्रुपले तेस्रो होटलको रूपमा मोक्सी ल्याउन लागेको हो । नेपालमा एमएस ग्रुपले सञ्चालन गरेको काठमाडौं मेरियटले नेपाल होटल इन्डष्ट्री लिडरसीप एवार्ड—२०१९ सहित पाँचवटा प्रतिष्ठित एवार्ड जितेको थियो । वल्र्ड मार्केटिङ कंग्रेसले प्रदान गर्ने उक्त एवार्डलाई प्रतिष्ठित एवार्ड मानिन्छ ।

सन् २०१९ मै सञ्चालनमा आएको उक्त होटलले लिडरसीपसँगै सर्वश्रेष्ठ रोजगारदाता ब्राण्ड एवार्ड, बेस्ट बार अफ द इयर एवार्ड, वेस्ट इयर भेनु अफ द इयर एवार्ड, वेस्ट होटल लञ्च अफ द इयर एवार्ड समेत जितेको हो । प्रतिस्पर्धामा सहभागी ५ सय होटलमध्येबाट मेरियटले उक्त महत्वपूर्ण पाँच एवार्डहरू जितेको जनाइएको छ ।

सम्बन्धित समाचार