वुहानबाट १७५ नेपालीलाई काठमाडौं ल्याइयो, कोरोना भाइरस लागेको आशंकामा ६ रोकिए

चीनको वुहानमा रहेका १७५ नेपालीहरूलाई उद्दार गरेर नेपाल ल्याइएको छ । उनीहरूलाई नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत आइतबार विहान करिव ४ बजेतिर काठमाडौंमा ल्याइएको हो । वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ चिकित्सकसहितको टोली चीन गएको थियो ।

१ सय ८५ जना नेपालीलाई ल्याउने तयारी गरिएपनि ६ जना ज्वरोका कारण उहान विमानस्थलमै रोकिएका छन् । ४ जना भने स्वइच्छाले नेपाल नआएको बेइजिङस्थित नेपाली दूताबासले जनाएको छ ।



उनीहरूको त्रिभुवन विमानस्थलमा पुन स्वास्थ्य परीक्षण गरिनेछ र, ज्वरो नदेखिएकाहरूलाई पाँच बसमा राखेर र एम्बुलेन्ससँगै सुरक्षाका सम्पूर्ण माध्यम अपनाएर खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन लगिनेछ ।

६ नेपालीलाई कोरोना भाइरसको आशंका

ऊहान विमानस्थलमा चेकजाँचको क्रममा ६ जनाको स्वास्थ्य प्रतिकूल देखिएपछि विमानस्थलले नेपाल फर्कन उनीहरुलाई रोक लगाएको बताइएको छ । नेपालबाट ऊहान पुगेको नेपाल एयरलाइन्सको विमानमा नेपालीहरु चढिसक्दा उनीहरुले विमान चढ्ने अनुमति पाएका छैनन् ।

बेइजिङस्थित नेपाली दूतावासले ४ जना नेपाली स्वदेश फर्किन नचाहेको र ६ जना नेपालीलाई भने चेकजाँचका क्रममा स्वास्थ्यमा समस्या देखिएपछि विमान चढ्नबाट रोकेका जनाएको छ । ६ जनामा कोरोनाको आशंका देखिएकाले उनीहरुलाई रोकेको बताइएको छ ।

सम्बन्धित समाचार