सिभिल बैंकको १०९ औं शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लाको सुनवलमा आफ्नो शाखा संचालनमा ल्याएको छ । एक कार्यक्रमका बीच सिभिल बैंकका संचालक समितिका सदस्य भीमानन्द ढुङ्गाना तथा सुनवल नगरपालिकाका मेयर भीमबहादुर थापाले संयुक्त रूपमा सिभिल बैंक लिमिटेडको सुनवल शाखाको समुद्घाटन गरे ।

सो अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कैलाशेश्वर शिवालय मन्दिरमा संचालित जेष्ठ नागरिक दिवा सेवा कार्यक्रमको सहयोगार्थ एक थान फ्रिज पनि प्रदान गरियो । सो फ्रिज सिभिल बैंकका संचालक समितिका सदस्य भीमानन्द ढुङ्गानाद्वारा श्री कैलाशेश्वर शिवालय तथा १०८ शिवलिङ्ग संरक्षण संस्थाका अध्यक्ष गोपालप्रसाद आचार्यलाई प्रदान गरिएको थियो ।



सुनवल शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा सुनवल नगरपालिकाका मेयर भीमबहादुर थापाले सुनवलमा शाखा स्थापना गरेकोमा सिभिल बैंकलाई धन्यवाद दिए तथा नगरवासीलाई आफूलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिन आग्रह समेत गरे ।

उक्त अवसरमा सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलले सिभिल बैंक सुनवल शाखाले यस क्षेत्रका सम्पूर्ण बचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानीयलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिबद्धता जनाउँदै त्यस क्षेत्रको अर्थतन्त्र उठाउनका लागि व्यापार व्यवसाय, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउने बताए ।

उक्त समारोहका सभापति तथा सिभिल बैंकका संचालक समितिका सदस्य भीमानन्द ढुङ्गानाले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता विना आर्थिक समृद्धि सम्भव नहुने बताए ।

सम्बन्धित समाचार