नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस आँबुखैरेनी गाउँ कार्य समितिले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस बलियो भए मात्रै लोकतन्त्र बलियो हुने धारणा व्यक्त गरे ।
कांग्रेसप्रति अझै पनि जनताको आशा र भरोसा रहेकाले पार्टीभित्रै सुधारको आवश्यकता रहेकामा वरिष्ठ नेता पौडेलले जोड दिए । दुई तिहाइ जनमत प्राप्त सरकारले जनताको भावनाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै नेता पौडेलले सरकारको कार्यशैली सच्चिनुपर्ने टिप्पणी गरे ।
सो अवसरमा विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्ने २० युवालाई वरिष्ठ नेता पौडेलले स्वागत गरेका थिए ।