परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तीन दिने भ्रमणका लागि आज बंगलादेश जाँदै छन् । समकक्षी डा एके अब्दुल मोमेनको निमन्त्रणामा मन्त्री ज्ञवाली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै ढाका जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवालीसँगै परराष्ट्र सचिव तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र उर्जा मन्त्रालयका उच्च अधिकारीहरु पनि भ्रमण टोलीमा रहने छन् ।
नेपाल र बङ्गलादेशबीच डेढ दशकपछि परराष्ट्रमन्त्रीस्तरमा द्विपक्षीय वार्ता आगामी मङ्गबार ढाका हुन लागको हो । सम्पर्क सञ्जाल विस्तार, ऊर्जा व्यापार र व्यापार अभिवृद्धिमा केन्द्रित रहेर वार्ता हुनेछ । द्विपक्षीय सम्बन्धका सबै पक्षमा गहन छलफल हुने प्रतिनिधिमण्डलस्तरीय वार्तामा साझा चासोका ऊर्जा, व्यापार प्रवद्र्धन, पारवहन, सम्पर्क सञ्जाल विस्तार, पर्यटन, लगानी, क्षेत्रीय तथा बहुपक्षीय सहयोग प्रवद्र्धनमा सघन विचारविमर्श गर्ने कार्यसूची परराष्ट्र मन्त्रालयले निर्धारण गरेको छ ।
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को संस्थापक सदस्य, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को सदस्य तथा बङ्गदेश, नेपाल, भारत, भूटान ‘इनिसिएटिभ’ (बिबिआइएन) को साझेदार राष्ट्र बङ्गालादेशसँग नेपालको बहुआयमिक सम्बन्ध भए पनि विविध कारणले लामो समयदेखि परराष्ट्रमन्त्रीस्तरमा द्विपक्षीय बैठक हुन सकेको थिएन ।
यद्यपि सार्क, बिम्स्टेक र बिबिआइएन, असंलग्न आन्दोलन (नाम)र संयुक्त राष्ट्रसङ्घीय महासभाका सन्दर्भमा भने अनौपचारिक द्विपक्षीय संवाद भएका छन् । सहुलियतपूर्ण व्यापार सम्झौताबारे विशेषरुपमा छलफल हुनेछ भने पश्मिना, जुत्ता चप्पल, अदुवा, अलैँची, सागपात, फलफूल, हस्तकलाका सामग्री, नक्कली गरगहना, चिया, कफी तथा जडीबुटी र जडीबुटीजन्य नेपाली उत्पादनलाई सहुलियतमा बङ्गलादेशी बजार उपलब्ध गराउन नेपाली पक्षले आग्रह गर्नेछ। कृषि प्रशोधन, दूध र दुग्धजन्य पदार्थ, तयारी पोशाक, विद्युतीय र घरायसी उपकरणलगायत झण्डै १४० वटा उत्पादनबारे द्विपक्षीय सम्झौतालाई अन्तिम रुप दिने प्रयत्न वार्तामा हुने अपेक्षा गरिएको छ।