नेपालको सबैभन्दा अग्लो ७५ फिट उचाइ भएको हनुमान मूर्ति

बाँकेको कोहलपुर नगरपालिका–३ मदन चोकस्थित शङ्कर मन्दिर परिसरमा हनुमानको पूर्णकदको मूर्ति निर्माण भइरहेको छ । मदन चोकका स्थानीय समाजसेवी द्रोणप्रसाद जैसीको व्यक्तिगत लगानीमा मूर्ति निर्माण भइरहेको हो । दुई वर्षअघि निर्माण शुरु गरिएको मूर्तिको करीब ८५ प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ ।

शङ्कर भगवान मन्दिर व्यवस्थापन समितिका अध्यक्षसमेत रहृका जैसीले आफ्ना स्व मातापिताको सम्झनामा मन्दिर परिसरमा हनुमानको पूर्णकदको मूर्ति निर्माण गरिरहेको बताए । उनका अनुसार मदन चोकको शङ्कर मन्दिरको परिसरमा निर्माण भइरहेको हनुमानको मूर्ति नेपालकै सबैभन्दा ठूलो हो । यसको उचाइ ७५ फिट छ ।



धार्मिक क्षेत्रका रुपमा रहेको यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले पनि निर्माण गरिएको उहाँको भनाइ छ । मूर्ति निर्माण गर्दा रु १७ लाख लाग्ने अनुमान गरिएको भए पनि हालसम्म रु १९ लाख खर्च भइसकेको छ । अब बाँकी कामका लागि रु २३ लाख लागत लाग्ने उनको भनाइ छ ।

“मूर्ति निर्माणका लागि हालसम्मको सम्पूर्ण खर्च मैले व्यहोरेको छु,” उनले भने, “व्यक्तिगत लगानीमा बनाउने भएकाले बाँकी काम सम्पन्न गर्नका लागि मैले नै लगानी गर्छु ।” मूर्ति निर्माण भइसकेपछि यहाँको पर्यटन क्षेत्रमा सघाउ पुग्ने जैसीको विश्वास छ । उनले भन्नुभयो, “जीवनभर जति सम्पत्ति कमाए पनि कम हुन्छ, आखिर मरेर के नै लैजानु छ र १”

जिन्दगीभर कमाएको सम्पत्ति धार्मिक क्षेत्रमा लगानी गरेमा पुण्य होला भनेर लगानी गरेको उनले बताए । “सामाजिक स्वार्थबाहेक अन्य कुनै पनि किसिमको स्वार्थ छैन,” जैसीले भने । उक्त मूर्ति निर्माणका लागि ठूलो परिमाणमा नरिवलको डोरी, सिमेन्ट, बालुवा, ढुङ्गा, माटो र इँटाको प्रयोग भएको छ । मूर्तिको बाहिरी आवरण कलात्मक हुनेछ ।

सम्बन्धित समाचार