मुस्लिम समुदायको धार्मिक सम्मेलन ‘इज्तिमा’ मा सहभागी हुन सप्तरी आएका २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार २ भारतीय नगरिकको मृत्यु भएको हो ।
भारतको विहारस्थित पश्चिम चम्पारन, वसन्तपुरका ६२ वर्षीय नेक मोहम्मद र मोतिहारीका ७४ वर्षीय हारुन रसिदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले बताए । हृदयाघातका कारण उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सहभागीहरुले अन्य एक नेपालीको पनि मृत्यु भएको जानकारी दिएका छन् । तर, प्रहरीले त्यसको पुष्टि गरेको छैन । ‘घर पुगिसकेको कोही एक जनाको विषयमा हल्ला आएको हो, तर अधिकारिक रुपमा पुष्टि भएको छैन,’ डिएसपी भारतीले भने ।
बोदेबरसाइन नगरपालिका-५, जाँजरमा आयोजित तीन दिने ‘इज्तिमा’ आज (सोमबार) समापन हुँदैछ । कार्यक्रममा करिब ५ लाख मुस्लिम धर्मावलम्बी सहभागी भएको बताइएको छ । भारतको नयाँ दिल्लीका मौलाना साद साहाब र नेपाली जमातका अध्यक्ष मो. निसारुद्दिनलगायतका धर्मगुरुले कार्यक्रममा प्रवचन दिइरहेका छन् ।