नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ फागुन ।
तत्कालिन प्रतिनिधीसभाका सभामुख कृष्णबहादुर महरा र उपसभामुख शिवमाया तुम्बाहाङ्फेका लागि आज (फागुन ५ गते) को दिन खास बनेको छ । सोमबार काठमाडौं जिल्ला अदालतबाट पूर्वसभामुख कृष्णबहादुर महराले जवरजस्ती करणी उद्योग मुद्दामा सफाइ पाउँदै गर्दा तत्कालिन पूर्वउपभामुख डा. शिवमाया तुम्बाहाङफे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो तुम्बाहाङ्फेलाई कानूनमन्त्रीमा नियुक्त गरेकी थिइन् । सोमबार नै शीतल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ लिएकी थिइन्।
तुम्बाहाङफे अपरान्ह ४ बजे मन्त्रि पदको सपथ लिन शीतल निवास पुग्दा महरा डिल्ली बजार कारागारमा पूर्वआइजी रमेशचन्द्र ठकुरीको हातबाट बिदाइको खादा लगाइरहेका थिए । गएको असोज १२ गतेर संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले महराले आफूलाई जबरजस्ती करणी प्रयास गरेको बताएकी थिइन् ।
सोही घटनाका कारण उनले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए भने असोज १९ गते पक्राउ परेका थिए । तत्कालीन जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।