महराको मुद्दामा अदालतले प्रमाणलाई राम्ररी नहेरेको

जिल्ला अदालतले १४१ दिनपछि सभामुख रहेका कृष्णबहादुर महरालाई बलात्कार उद्योगमा सफाइ दिँदा दुई आधारमात्र हेरे पनि अन्यलाई भने नहेरेको देखिन्छ। यौन दुर्व्यवहारमा बहालवाला सभामुख र पहुँचवाला राजनीतिक दलको नेता भएकाले बकपत्रमा हुन सक्ने होस्टाइल, अन्य परिस्थितिजन्य प्रमाण र प्रहरीले बुझाएको सिसिटिभी फुटेज र घटनाको समयमा उनले गरेको बयानलाई जिल्ला अदालतले अस्वीकार गरेको देखिन्छ।

घटनाको बयान र परिस्थितिजन्य प्रमाण



जिल्ला अदालतले रोशनीको कोठामा प्रहरीले जाहेरीपछि फेला पारेका प्रमाणहरुको विश्लेषणमा ध्यान नदिएको देखिन्छ । रोशनीको कोठामा भेटिएको महराको चस्मा, रक्सी खाएको गिलास र बोतल, सिसिटिभी फुटेजमा महरा उक्त स्थानमा पुगेको भनि देखिएको भिडियो र उनको सुरक्षामा खटिएका सुरक्षाकर्मीको बयानबारे अदालतले विश्लेषण गरेको देखिँदैन ।

घटनापछि दुई दिनसम्म दुवैबीचमा भएका टेलिफोन संवाद, एसएमएस र भाइवर च्याटलाई अदालतले वेवास्ता गरेको छ । महराले घटनाको भोलिपल्ट ुफर्गेट एस्टर्डेु भन्ने लगायत अन्य सन्देश पठाएका थिए । महरा आफैले पनि बयानमा रोशनीको कोठाभित्र प्रवेश नगरे पनि नजिकै गएको स्वीकार गरेका छन् । तर अदालतले जाहेरवाली रोशनीले कोठामै नआएको भनि दिएको बयानलाई सफाइ दिने आधार बनाएको छ ।

रोशनीले प्रहरीसँग घटना भएको समयमा दिएको बयान र अदालतमा दिएको बयानमा फरक परेपछि अदातलले यसलाई नै सफाइको आधार बनाउन सक्ने देखिँदैन । बयानमा जाहेरवाला होस्टाइल भएमा अदालतले त्यसलाई आधार मान्ने गरेको छैन । महरा पनि उच्च राजनीतिक र सार्वजनिक महत्वको पद धारण गरेको व्यक्ति भएकाले अदालतले यही आधारमात्र टेकेर सफाइ दिने निर्णय गर्नु अपर्याप्त देखिन्छ ।

सम्बन्धित समाचार