प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । मंगलबार अपरान्ह त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो। प्रधानमन्त्री ओलीको मुटुको मनमोहन भास्कुलर सेन्टरस्थित क्याथ ल्याबमा एन्जिओग्राफी गरिएको छ।
अस्पताल जान ढिला भएको भए प्रधानमन्त्रीको मुटुमा गम्भीर समस्या निम्तिन सक्ने डाक्टरहरुले बताएका छन् । वरिष्ठ मुटुरोग विशेषज्ञ डा अरुण सायमीले समयमै एनजिओग्राफी गरेकाले अहिले प्रधानमन्त्री खतरामुक्त रहेको जानकारी दिए ।
प्रधानमन्त्री ओली गत कात्तिकदेखि नियमित डायलाइसिसमा छन् । ओलीको स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि धापासीस्थित ग्राण्डी अस्पताल गएर जाँच गरेका थिए । मिर्गौलाले प्राकृतिकरुपमा काम गर्न छाडेपछि ओलीले हरेक शनिबार त्रिवि शिक्षण अस्पतालमा डायलाइसिस गर्दै आएका छन् ।