भैंसी चोरी गरेको आरोपमा प्रहरीले भीरकोट नगरपालिका २ का २४ वर्षीय अजमत अलि र २७ वर्षीय महमद अलिलाई पक्राउ गरेको छ । उनीहरुले ग१ज ५८४१ नम्बरको जीपमा भैंसी र पाडी लिएर बयरघारीतर्फ जाँदै गर्दा सोधपुछका क्रममा भैंसी किनेको ठाउँ खुलाउन नसकेपछि मङ्गलबार पक्राउ गरिएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
भीरकोट नगरपालिकाका तेजबहादुर केसीको दुई वर्षको पाडी र भीरकोट २ की जमुना केसीको सात वर्षको लैनो भैंसी गोठबाटै चोरी भएको थियो । पीडित किसानले गोठबाटै भैंसी हराएको उजुरी दिएपछि प्रहरीले खोजी सुरु गरेको थियो । खोजीकै क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तेजबहादुर केसी र जमुना केसीलाई भैंसी र पाडी देखाउँदा आफूहरुको भएको बताएको कार्यालयका प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर) निरञ्जन घिमिरेले जानकारी दिए । चोरी कार्यमा संलग्नलाई जिल्ला अदालतमा म्याद थपी अनुसन्धान थालिएको जनाएको छ ।
चोरी गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने भन्दै भीरकोट नगरपालिकाका स्थानीय बासिन्दा वडा प्रहरी कार्यालय वालिङ पुगेका थिए ।