एमसिसी अनुमोदनका लागि अमेरिकी संसदीय टोली काठमाडौंमा सक्रिय

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) का उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल भ्रमण सकेर फर्किएको दुई साता पनि नबित्दै त्यसका पक्षमा ‘लबिङ’ गर्न अर्को अमेरिकी टोली नेपाल आइपुगेको छ।

अमेरिकी संसदको विदेश मामिला समितिअन्तर्गत एसिया र एसिया प्रशान्त क्षेत्र हेर्ने उपसमितिका संयोजक अमि बेरा नेतृत्वको ४ सदस्यीय टोली बिहीबार काठमाडौं आएको हो।



भारत र श्रीलंका हुँदै आएको टोली नेपालमा निकै विवादित बनिरहेको एमसिसी अनुमोदनका लागि भेटघाटमा निकै सक्रिय भएको छ।
नेपालस्थित अमेरिकी दूतावासले भ्रमणको उद्देश्य अमेरिकी विदेश नीतिको प्रभावकारिता र नेपालमा दिएको सहयोगको मूल्यांकन गर्नु भएको उल्लेख गरेको छ।

टोलीले हिजो नै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र अर्थमन्त्री युवराज खतिवडासँग भेटघाट गरिसकेको छ। टोलीलाई अर्थ मन्त्रालयमा भेटेका अर्थमन्त्री खतिवडाले एमसिसीअन्तर्गत प्राप्त हुने अमेरिकी अनुदान सहायता नेपाललाई चाहिने कुरामा कुनै द्धिविधा नभएको उल्लेख गर्दै सो सहायता सम्झौता संसदबाट अनुमोदन हुने बताएका थिए।

टोलीले शुक्रबार बिहान बालुवाटार गएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट गरेको छ।

अमेरिकी दूतावासका अनुसार टोलीले सरकारका अन्य वरिष्ठ अधिकारी, नागरिक समाजका अगुवा र एमसिसी कार्यान्वयन गर्न नेपालले गठन गरेको एमसिए नेपालका अधिकारीहरुसँग पनि भेटघाट गर्ने छ ।

सम्बन्धित समाचार