नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ फागुन ।
सिन्धुली जिल्लाको दुधौलीमा शुक्रबार पहिलो पटक अन्तर्राष्ट्रिय मातृभाषा दिवश मनाइएको छ । दुधौली प्रज्ञा प्रतिष्ठानको आयोजना तथा दुधौली नगरपालिकाको सहयोगमा अन्तर्राष्ट्रिय मातृभाषा दिवश कार्यक्रम दुधौली प्रज्ञा प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको सभापतित्व तथा दुधौली नगरपालिकाका मेयर घनश्याम राउतको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
मातृभाषा दिवशको अवसर पारेर आयोजित उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद दुधौलीका अध्यक्ष गान्धीराज मगरले दुधौलीमा मगर भाषा साहित्यको अवस्था, मगर लेखक संघका पूर्व महासचिव उजिर राना मगरले मगर भाषा सहित्यको वर्तमान अवस्था, नेपाल साहित्यिक पत्रकार संघका केन्द्रिय सदस्य अर्जुन तामाङ्गले तामाङ्ग भाषाको वर्तमान अवस्था तथा कान्तिपुर दैनिकका पत्रकार गणेश राईले मातृभाषाहरुको अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने स्थानीय बुद्धिजीवि रामेश्वर अधिकारी दनुवारले दनुवार भाषा संस्कृतिको अवस्थाका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा मगर, तामाङ्ग, राई, दनुवार, गुरुङ्गलगायत १३ वटा विभिन्न भाषाका कविता तथा रचनाहरू वाचन गरिएको थियो । प्रस्तुत कार्यपत्रमाथि दुधौली नगरपालिका नगर शिक्षा अधिकारी पदमसिंह विष्ट र बुद्धिजीवी देवी पराजुलीले टिप्पणी गरेका थिए । यस क्रममा विष्टले अंग्रेजी मोहले गर्दा मातृभाषा हराउनुका साथै बालबालिकाहरूमा सिकाइ क्षमतासमेत बढ्न नसकेको बताए । कार्यपत्र प्रस्तुत गर्दै पत्रकार राईले मातृभाषा देशको सम्पदा भएकाले संरक्षण आवश्यक रहेको बताए ।
कार्यक्रममा आ–आफ्ना भाषा, साहित्य र संस्कृतिको क्षेत्रबाट विशेष योगदान दिनुहुने १४ जना व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुने कपिलदास आसामे मगर (मरणोपरान्त), कुलवीर माझी, अशोक गुरूङ, कार्यपत्र प्रस्तोताहरूलगायतलाई प्रमाणपत्रसहित दोसल्ला ओडाइ सम्मान गरिएको थियो भने काव्य वाचन गर्ने सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण मणि काफ्ले तथा रोहित गुरूङले गरेका थिए ।
नगरपालिकाबाट ३ कठ्ठा जग्गा प्रदान
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै दुधौली नगरपालिकाका मेयर घनश्याम राउतले दुधौली प्रज्ञा प्रतिष्ठानलाई ३ कठ्ठा जग्गा उपलब्ध गराउने निर्णय भइसकेको तथा आगामी आर्थिक वर्षदेखि प्रतिष्ठानलाई भाषा र साहित्यको विकास गर्ने उद्देश्यको लागि केही रकम पनि विनियोजन गर्ने घोषणा गरेका थिए । नवकान्तिपुर डटकम संवाददातासँग बोल्दै प्रतिष्ठानका अध्यक्ष दिल पौडेलले नगरपालिकाको निर्णयले आफूहरू प्रोत्साहित भएको र प्रतिष्ठानलाई थप ऊर्जा मिलेको प्रतिक्रिया दिए ।