नेपालबाट गएका हवाई यात्रुलाई भारतले कोभिड-१९ (कोरोना भाइरस) को संक्रमण भएरनभएको स्क्यान गर्ने भएको छ । भारतको शनिबार बसेको क्याविनेट सचिवस्तरीय बैठकले काठमाडौंबाट उड्ने विमानका यात्रुलाई भारतीय विमानस्थलमा युनिभर्सल स्क्रिनिङ गर्ने निर्णय गरेको हो ।
नेपालसँगै इन्डोनेसिया, भियतनाम र मलेसियाबाट भारत पुगेका यात्रुको पनि विमानस्थलमा स्क्रिनिङ गर्ने भारतको स्वास्थ्य मन्त्रालयले बताएको छ । भारतले आफ्नो नागरिकलाई अनावश्यक रूपमा सिङ्गापुरको यात्रा नगर्न समेत सुझाव दिएको छ ।
भारतमा अहिलेसम्म २१ हजार आठ सय पाँच जनालाई सामुदायिक निगरानीमा राखिएको छ । साथै तीन लाख ९७ हजार एक सय ५२ जना विमान यात्रु र नौ हजार छ सय ९५ समुन्द्री बन्दरगाहमा स्क्रिन जाँच गरिसकेको छ ।