मनग्य आम्दानी हुने गरी राजगारीका लागि टर्की र ग्रीस पठाइदिने भन्दै ३९ लाख ५६ हजार नगद ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । ३२ जना नेपालीहरुलाई आकर्षक तलब पाउने गरी टर्की र ग्रीस पठाइदिने भन्दै प्रतिव्यक्ति १ लाख देखि १० लाख रुपैयाँसम्म उठाएर ठगी गर्ने व्यक्ति पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–७ बुधबारे घर भइ काठमाडौंको चुच्चेपाटी बस्ने ५२ वर्षीय कमल प्रसाद पोखरेल छन् । पीडितमध्येका गोपीराम पराजुलीले दिएको उजुरीको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले पोखरेललाई पक्राउ गरेको हो ।
पोखरेललाई काठमाडौंको टेकुबाट पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ ।