नेपाल प्रेस युनियनका महासचिव एवं हाम्रा कुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई फेरि सुरक्षा थ्रेट बढेको भन्दै नेपाल प्रेस युनियन केन्द्रिय समितिले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै युनियनका अध्यक्ष बद्री सिग्देलले महासचिब शिवाकोटीको सुरक्षाका लागि सम्बन्धित निकायसँग माग गरेका छन् ।
गत विहीबार पहिलो पटक तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकलप्रसाद बाँस्कोटाको सेक्युरिटी प्रेस खरिद प्रकरणमा कमिसन सम्बन्धी अडियो सार्वजनिक गरेपछि उनीमाथि सुरक्षा थ्रेट बढेको युनियनको दावी छ ।
विज्ञप्तिमा भनिएको छ, ‘अडियो सार्वजनिक घट्नापश्चात महासचिव एवं प्रधानसम्पादक शिवाकोटीको निवास तथा कार्यालय आसपासमा केही अपरिचित व्यक्तिले शंकास्पद गतिविधि गर्ने गरेको र रेकी गरी फर्कने गरेपछि उहाँलाई असुरक्षा महशुस भएकोप्रति प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ ।’