जनप्रतिनिधि हुनु त यस्तो पो, आफ्नो सुविधाले दुई एम्बुलेन्स खरिद

जनप्रतिनिधिले ‘मानवीय सेवामा कसरी सहयोग पुर्याउनु पर्छ’ भन्ने उदाहरण रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौला बनेकी छिन्। उनले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको बजेटले दुई एम्बुलेन्स खरिद गरी मानवीय सेवामा सहयोग पुर्याइन्। गाउँपालिकाको कार्यपालिका बैठकबाट पारित गरि एम्बुलेन्स खरिद गरिएको जनाइएको छ ।

वडा नं ५ र ११ मा रहनेगरी दुवै वडास्थित एम्बुलेन्स सञ्चालन समितिका अध्यक्षद्वयलाई आइतबार कार्यक्रममा संविधानसभा सदस्य तीर्थ लामाले हस्तान्तरण गरे । सरकारद्वारा कर छुटसहित रु २१ लाख ५२० मा दुई एम्बुलेन्स खरिद गरिएको हो ।



ती एम्बुलेन्सबाट रोशी गाउँपालिकाको ३५ हजार बासिन्दाका साथै नमोबुद्ध नगरपालिका, महाभारत गाउँपालिका, तेमाल गाउँपालिका तथा छिमेकी जिल्ला सिन्धुलीको सुनकोशी गाउँपालिकाका बासिन्दा लाभान्वित हुने छन् ।

उपाध्यक्ष बर्तौलाले आफ्नो सुविधाभन्दा पनि पालिकावासीको आवश्यकता मध्यनजर गरी एम्बुलेन्स खरिद गरिएको कार्यक्रममा बताइन् । गाउँपालिकाले उपाध्यक्षलाई गाडी खरिद गर्न गत आर्थिक वर्षमै रु २६ लाख रकम छुट्याएको थियो । गाउँपालिका अध्यक्ष दलबहादुर लामाले उपाध्यक्षले उदाहरणीय काम गर्नुभएकोमा खुशी व्यक्त गरे ।

बर्तौलाले गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएदेखिनै गाउँपालिकाको कुनै पनि सवारीसाधन प्रयोग गरेकी छिैनन्। “अध्यक्षको गाडी अहिलेसम्मा दुईपटक मात्रै चढेको छु, मैले निर्वाचित भएदेखिनै घरबाट गाउँपालिका कार्यालय आउन जान सार्वजनिक यातायात प्रयोग गर्दै आएको छु”, उनले भनिन् । भौगोलिकताले विकट एवं पहाडी भूभाग भएकाले गाउँपालिकाका बासिन्दाले समयमै उपचार पाउन् भन्ने उद्देश्यले आफ्नो सवारी बजेटबाट एम्बुलेन्स खरिद गर्न लगाएको उनले बताइन्।

सम्बन्धित समाचार