कतारले नेपालसँगको श्रम सम्झौता अद्यावधिक गर्न तयार रहेको जनाएको छ । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि कतारका राजदूत युसुफ विन महोम्मद अल हल्नीले आज सिंहदरबारमा गरेको शिष्टाचार भेटमा राजदूतले दुई देशबीच भएको श्रम सम्झौतालाई आवश्यकताअनुसार परिमार्जन गर्न तयार रहेको बताएका हुन् ।
यसअघि कतारसँगको समझदारीलाई समयानुकूल बनाउन नेपालले लामो समयदेखि कूटनीतिक पहल गरिरहेको थियो । सम्झौता परिमार्जनका लागि विभिन्न चरणमा द्विपक्षीय वार्ता संवाद भए पनि त्यसले मूर्तरुप लिन सकेको थिएन ।
भेटमा राजदूत युसुफले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘हामीले नेपालमा क्रिकेट रङ्गशाला निर्माणमा पनि सहयोग गर्न चाहेका छौँ’, सभामुखसँगको भेटमा उनले भने । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुुटबलको तयारीमा कतारमा कार्यरत नेपाली श्रमिकले ठूलो योगदान गरिरहेको पनि राजदूतले स्मरण गरे ।
सो अवसरमा सभामुख सापकोटाले जलवायु परिवर्तनलगायत विश्व्यापी समस्या समाधन गर्न नेपाल र कतारले संयुक्तरुपमा पहलकदमी लिनुुपर्नेमा जोड दिएका थिए । भेटमा उनले सन् २०२२ मा कतारले आयोजना गर्न लागेको विश्वकप फुुटबलको सफलताको कामना गरेको सभामुखको सचिवालयले जनाएको छ ।