पछिल्लो समय सामाजिक सञ्जाललाई अपराधको माध्यमका रुपमा दुरुपयोग गर्ने क्रम बढेको छ । सामाजिक सञ्जालबाट सुनसरीकी एक महिलालाई काठमाडौं बोलाएर सामुहिक बलात्कार गरिएको घटना बाहिर आएको छ । राम्रो जागिरको प्रलोभन देखाउँदै सुनसरी इटहरीकी एक ३४ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत काठमाडौं बोलाएर सामुहिक बलात्कार गरिएको छ ।
महिलालाई जागिरको लोभ देखाएर काठमाडौं बोलाई सामुहिक बलात्कार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महिलाले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको महाराजगन्जस्थित महानगरीय प्रहरी वृत्तले जानकारी दिएको छ ।
पीडित महिलाले दिएको उजुरीका आधारमा झापाको गौरीगञ्ज गाउँपालिका–१ घर भई अहिले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६ बस्ने ३४ वर्षका विशाल संग्रौला र सोही ठाउँ बस्ने वर्ष ३५ का सुवास संग्रौलालाई पक्राउ गरिएको वृत्तका प्रमुख उमेश लम्सालले जानकारी दिएका छन् ।
उनीहरुलाई आइतबार साँझ बूढानीलकण्ठबाट पक्राउ गरिएको हो । ‘महाराजगञ्ज वृत्तको हिरासतमा राखिएका उनीहरूविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरी ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेका छौं,’ उनले भने ।
इटहरीकी ती महिलालाई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ६ गणेशचोकस्थित सुवास संग्रौलाको घर र भक्तपुरको एक रिसोर्टमा लगेर सुवास र विशालले बलात्कार गरेको पीडितको उजुरीमा उल्लेख छ ।
‘उनीहरूले ती महिलालाई सामाजिक सञ्जालमा साथी बनाएर जागिर दिन्छु भन्दै काठमाडौं बोलाएको पाइयो’, डीएसपी लम्सालले भने, ‘अनि विभिन्न बहानामा यी दुई जनाले पटक–पटक सामुहिक बलात्कार गरेको अनुसन्धानमा देखियो ।’