प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले आफू पनि भ्रष्टाचार गर्दिन र गर्न पनि गर्न दिन्न भन्ने प्रधानमन्त्रीको दाबीलाई निवर्तमान सञ्चारमन्त्रीको अडियो प्रकरणले गिज्याएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेस सांसद रिजालले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिदै उनले भने ‘जन्मदिनमा प्रधानमन्त्री ओलीको सत्ता उन्माद देखेर आम नागरिक निराश भएका छन् । सरकार कुन लोकमा छ ? प्रधानमन्त्री कुन लोकमा हुनुहुन्छ ? हिजो राजनीति गर्ने भए श्रीपेच फुकालेर आउ भन्थे मदन भण्डारी । आज थरिथरीका श्रीपेच लगाएका कम्युनिस्ट आत्मजन मित्रलाई के भन्दै होलान मदन भण्डारी ?’
कमिसन धेरै आउने नाममा मन्त्रीले ठेक्का रकम बढाएको सुनिएको भन्दै रिजालले अप्टिकल फाइबर, थ्रीजी, फोरजी, स्याटेलाइट सबैमा भ्रष्टाचार भएको बताए । सरकाप्रति धेरैको अविश्वास रहेको भन्दै उनले प्रधानमन्त्रीलाई संसदमा आएर विश्वास दिलाउन आग्रहसमेत गरे ।