महत्त्वपूर्ण सवालहरूमा भीम रावलले गराए सरकारको ध्यानाकर्षण

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद भीम रावलले नेपाल भारतको सीमा विवाद समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता रावलले देश सानो भए पनि कुनै देशको राष्ट्रियता सानो नहुने भन्दै सिमा विवादका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेपाली भूमिमा रहेका भारतीय सुरक्षाकर्मी हटाउने विषयमा सबै राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति भएको उल्लेख गर्दै उनले सोही अनुसार अगाडि बढ्न सरकारलाई आग्रह गरे । प्रबुद्ध व्यक्तिहरूले तयार पारेको प्रतिवेदन भारतले बुझेको विषयमा अहिलेसम्म पनि सदनमा जानकारी नभएको भन्दै उनले त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।



सीमा सुरक्षा र राष्ट्रको स्वाभिमानको रक्षा गर्न आवश्यक बजेटको व्यवस्था हुनुपर्ने भन्दै उनले असमान सन्धि र प्रावधान हटाउने कार्यलाई अगाडि बढाउने काम किन भएन ? भनी प्रश्नसमेत गरे । साथै, उनले कोरोना भाइरस कोरियामा समेत फैलन पुगेकोले त्यसतर्फ पनि सरकारले समयमै तदारूकता देखाउनुपर्ने सुझाव दिए ।

भ्रष्टाचार अन्त्य गर्न सरकारी पक्ष होस् वा संसदमा प्रतिनिधित्व गर्ने दल जोसुकै भए पनि कारबाही हुनुपर्ने बताउँदै रावलले भने ‘अख्तियारले तथ्यका आधारमा कारबाहीको दायरामा ल्याउनुपर्छ । कोही व्यक्ति आरोपी भयो, तर अदालतले त्यसलाई गलत सावित गर्यो भने उसलाई भ्रष्टाचारी भनिरहनु लोकतन्त्रमा सुहाउँदैन । भ्रष्टाचारजन्य क्रियाकलापमा जुनसुकै व्यक्ति भए पनि कारबाही हुनुपर्छ ।’

सम्बन्धित समाचार