लोकतन्त्र बलियो पार्न संस्कारयुक्त स्ववियु अपरिहार्य : ऐन महर

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका निकट विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक ऐन महरले लोकतन्त्रलाई बलियो पार्न संस्कारयुक्त स्ववियुको अपरिहार्यता रहेको बताएका छन् । वुधबार स्वतन्त्र विधार्थी युनियन रत्नराज्यलक्ष्मी क्याम्पसले आयोजना गरेको ‘लोकतन्त्र व्यवस्थामा विद्यार्थी आन्दोलनको भूमिका र स्ववियुको अपरिहार्यता’ विषयक अन्तक्रिया कार्यक्रममा संयोजक महरले सो कुरा बताएका हुन् ।

ऊर्जाशील उमेर समूहका लाखौं विद्यार्थीहरू सहभागी हुने स्ववियु निर्वाचन लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण र सुन्दर पक्ष हुने उनको भनाइ थियो ।



स्ववियु चुनाव हुन नसक्नुको जिम्मेवारी विश्वविद्यालय र विद्यार्थी संगठन सबैले लिनु पर्ने भन्दै महरले कसैले कसैलाई दोष लगाएर उम्कन नहुने बताए । पञ्चायतकालदेखि शाही शासनको बेला पनि स्ववियु निर्वाचनमा अनेरास्ववियु सहभागी भएको भन्दै उनले अनेरास्ववियु जहिले पनि स्ववियु चुनावको पक्षमा रहेको प्रष्ट पारे । साथै उनले विगतमा प्रतिकूल समयमा पनि स्ववियु चुनाव भएको भन्दै अहिले अनुकुल परिस्थितिमा पनि स्ववियु चुनाव हुन नसक्नु दुःखद् भएको बताए ।

रेक्टर नियुक्त नभएकाले स्ववियु निर्वाचन हुन सक्ने वातावरण छैन भन्ने विषयमा आफू सहमत नभएको भन्दै महर चैतमसान्त नकट्नेगरी त्रिविले निर्वाचनको तालिका ल्याउनु पर्ने माग राखे । त्रिविको अहिलेको नेतृत्वले स्ववियु निर्वाचन गराउने हिम्मत राख्दैन र निर्वाचन गराउने वातावरण बनाउन सक्दैन भने विश्वविद्यालयका पदाधिकारीहरूलाई पदमा रहिरहने नैतिक अधिकारसमेत नहुने उनको भनाई थियो ।

स्ववियु निर्वाचन गर्ने विश्वविद्यालयले र सहभागी हुने भनेका विद्यार्थीहरू भएको भन्दै महरले भने ‘अहिलेसम्म हामीले विद्यार्थी संगठनको अवस्थालाई हेरेर नेविसंघको अवस्था के छ ? अनेरास्ववियूको अवस्था के छ ? निर्वाचनमा भाग लिनसक्ने अवस्था छ कि छैन ? भन्ने कुरालाई बढी ध्यान दियौं र निर्वाचन गर्ने या नगर्ने निष्कर्षमा पुग्यौं । यो सबभन्दा दुःखद् पक्ष हो ।’

सम्बन्धित समाचार