नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ फागुन ।
नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुङ्गानाले पञ्चहरूले र राजाले रोक्न नसकेको स्ववियु चुनाव कसैले रोक्न खोजे नेविसंघ चुप लागेर नबस्ने बताएका छन् । बुधबार आरआर क्याम्पसमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढुङ्गानाले पञ्चायतकालमा पञ्चहरूले रोक्न नसकेको चुनाव र राजाले प्रत्यक्ष शासन गर्दा राजाले रोक्न नसकेको चुनाव कुनै पनि बाहनामा रोकिन्छ भने नेपाल विद्यार्थी संघ चुप लागेर नबस्ने बताएका हुन् ।
स्ववियु निर्वाचनलाई टार्ने कुराले स्ववियुलाई मात्र नभएर लोकतन्त्रलाई नै कमजोर बनाउने भन्दै अध्यक्ष ढुङ्गानाले विद्यार्थीहरूको वैधानिक संगठन स्ववियु चुनाव हुन नसक्नुका कारण खोतल्ने बेला आएको बताए ।
स्ववियु निर्वाचन हुन नसक्नुमा विद्यार्थी संगठनहरूले एक अर्कालाई दोष दिएर उम्कन नहुने र त्रिविले पनि त्रिविको सम्बन्धन प्राप्त देशभरका क्याम्पसमा सबै विद्यार्थी संगठनहरू चुनावमा भाग लिनसक्ने भरपर्दो वातावरण बनाउनु पर्ने भन्दै ढुङ्गानाले पहिले रेक्टर नियुक्त गरिनु पर्ने बताए । उनले भने ‘चुनावको घोषणा भएपछि कुनै पनि विद्यार्थी संगठनका नेताहरूलाई पक्राउ गर्ने काम पनि हुनुहुँदैन । त्यसो भयो भने सरकार नै चुनाव भाड्न लागेको हो भन्ने हामी बुझ्छौ ।’
केही समयअघि नेविसंघलाई भष्टाचारको आरोप लागेका विजय गच्छदारलाई बचाउन खोजियो भन्ने आरोपको खण्डन गर्दै उनले भने ‘भष्टाचारमा संलग्न जुनसुकै पार्टीका नेताहरू भए पनि कडाभन्दा कडा कारबाही गरिनु पर्छ । प्रधानमन्त्रीका पार्टीकाले उन्मुक्ति पाउने र प्रतिपक्षका नेता भए सजाय पाउने त्यस्तो खाले विभेद नेपाल विद्यार्थी संघलाई कहिल्यै पनि मान्य हुँदैन । हामी कानुनको सम्मान गर्छौ र विभेदविरूद्ध विद्रोह गर्छौ भनेर हामी सडकमा गएको हौं ।’