उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने गरी सचिवालय बैठकले निर्णय गरेपछि सत्तारुढ नेकपा भित्र तीव्र विवाद भएको छ । आफूलाई राष्ट्रिय सभामा लानै पर्ने अडानमा रहेका गौतमलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा राष्ट्रपतिले मनोनित गर्ने कोटाबाट राष्ट्रिय सभामा लाने निर्णय गरिएपछि नेकपाको विवाद छताछुल्ल भएको हो ।
बैठकले वामदेवलाई राष्ट्रियसभामा लाने निर्णय गरेसँगै असन्तुष्टि जनाएका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले डा युवराज खतिवडालाई नै निरन्तरता दिने भन्दै बुधबारै सचिवालय सदस्यहरुलाई फोनमार्फत जानकारी गराएका थिए । ओलीले सचिवालय बैठकको अन्तिममा करिब एक मिनेट बोल्दै आफूलाई पेल्न खोजिएको भन्दै तीव्र असन्तुष्टि जनाएका थिए ।
पछिल्लो समय नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको पनि साथ पाएका अध्यक्ष दाहालले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने प्रस्ताव सचिवालय स्वीकार गरेको थियो । संविधान संशोधन नभए पनि राष्ट्रियसभामा जान वामदेव तयार भएपछि सचिवालयले यस्तो निर्णय लिएको हो ।
ओली सचिवालयले वामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय गरिसकेको अवस्थामा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले यो निर्णय कार्यान्वयन नगर्ने कुरामा आफू दृढ रहेको सन्देश दिएका छन् । उनले आफूलाई सबै शक्ति लागेर पेलेको भन्दै राष्ट्रियसभामा गौतमलाई नलाने बताएका छन् ।
बालुवाटारमै बसेको सचिवालय बैठकको अन्त्यमा ओलीले यस्तो बताएका हुन्। ‘मलाई घेराबन्दी गर्ने खेल भएको छ। यो कुरा मलाई मान्य हुँदैन’, ओलीले सचिवालय सदस्यहरुलाई फोन गरेर भनेका थिए, ‘म वामदेवलाई राष्ट्रियसभामा पठाउदिनँ।’
प्रधानमन्त्री ओलीले आफूलाई घेराबन्दी गरिएको भनेर बताएलगत्तै वरिष्ठ नेता माधवकुमार नेपाल बालुवाटार पुगेका थिए। उनीहरुबीच करिब ३ घण्टा छलफल भएको थियो । ओलीले आफ्नो गुटका अन्य नेतालाई नबोलाई नेता नेपाललाई मात्र बालुवाटारमा बोलाएका हुन्। उनले आफूलाई घेराबन्दी गर्न खोजेको गुनासो गरेपछि नेता नेपालले गौतमलाई राष्ट्रियसभामा लाँदा कुनै अफ्यारो नहुने भन्दै ुंझाउने प्रयास गरेका थिए ।