आकर्षक तलबमा काम लगाउने भनी फ्रान्स पठाइदिने भन्दै ३ जना नेपालीबाट ३८ लाख रुपैयाँ उठाएर ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा रुपेन्देहीको दूधराक्ष घर भइ काठमाडौंको मनमैजु बस्दै आएकी ४३ वर्षीया पूर्णिमा श्रीष छन् ।
प्रहरीका अनुसार फूड प्याकिङ गर्ने काम गर्ने गरी फ्रान्स पठाइदिने भन्दै ३ जनाबाट ३८ लाख ५० हजार रुपैयाँ उठाएकी थिइन् । तर, पैसा लिएको लामो समयसम्म पनि सम्पर्कमा नआएपछि पीडित युवाहरुले महानगरीय अपराध महाशाखामा उजुरी दिएका थिए ।
पीडितमध्येका शीरबहादुर थापासहित ३ जनाले दिएको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले श्रीषलाई मनमैजुबाट पक्राउ गरेको हो । पक्राउ परेकी श्रीषमाथि थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) मुकेश कुमारले जानकारी दिए ।