कम्युनिष्ट पार्टी पोखरीमा जमेको पानी होइन : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता मूलभूत रूपमा केन्द्रदेखि प्रदेशसम्म सकिए पनि अझै केही काम बाँकी नै रहेको बताएका छन् । विहीबार काठमाडौंमा भएको नेकपा बागमती प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

एकतापछिको पहिलो केन्द्रीय बैठक बैठकका रूपमा नभई उत्सवका रूपमा भएको भन्दै प्रचण्डले विचार, विधि र नेतृत्वबाट नै पार्टी एकता सफल भएको बताए । एक चरणमा हिंसात्मक सघर्षबाट आएका दुई ठूला राजनीतिक दलहरू अहिले एक भएर लोकतान्त्रिक पद्धति अपनाएर शान्तिपूर्ण निर्वाचन पद्धतिमा भाग लिइसकेको उनको भनाइ थियो । नेकपाको पार्टी एकताले नेपाली राजनीतिको मानचित्र नै बदलेको भन्दै उनले विश्वसामु राजनीतिक रूपमा एउटा उदाहरण नै पेश गरेको बताए ।



साम्यवादसम्म नपुग्दा कम्युनिष्ट पार्टीमा विवाद भइरहने र विवादरहित कम्युनिष्ट पार्टी हुनै नसक्ने दाबी गर्दै उनले नेपाल कम्युनिष्ट पार्टी पोखरीमा जमेको पानी जस्तो नभएको बताए । उनले भने ‘बाहिर के के न भयो कि जस्ता कुरा सुनिन्छ, यो सब कम्युनिष्ट पार्टीमा यो सामान्य विषय हो । कम्युनिष्ट पार्टी पोखरीजस्तो एकैठाउँ जमेर कहिल्यै पनि बस्दैन । खोला बनेर भित्ताहरू भत्काउँदै ठेल्दै भुँमरीमा पर्दै महासागरमा पुग्छ । त्यो महासागर भनेका साम्यवादसम्म लम्कने हो ।’ उनले अगाडि थपे ‘आजका दिनसम्म आइपुगेर विश्व कम्युनिष्ट पार्टीको इतिहासलाई हेर्दा अरू कसैले पनि कम्युनिष्टलाई कमजोर पार्न सकेको देखिएन, तर सत्तामा पुगेपछि कम्युनिष्टहरू आफैं भ्रष्ट हुँदै गएको अवस्था छ । त्यो लक्षण नेपालमा पनि कताकता देखापरे जस्तो देखिन्छ ।’

सम्बन्धित समाचार