नवकान्तिपुर संवाददाता
नुवाकोट, १६ फागुन ।
मालिका माध्यमिक विद्यालय बेलकोटगढी न.पा.–६, देउरालीको १५ औं अभिभावक भेला विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हीरा पाण्डे तामाङ्घको अध्यक्षतामा हालै सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका पूर्व सह–महामन्त्री एवं केन्द्रीय सदस्य अर्जुननर्सिङ्ग केसीको उपस्थिति थियो ।
कार्यक्रममा विशेष अतिथिका रूपमा पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महत, केन्द्रीय सदस्य बहादुरसिहं लामा र पूर्व संविधान सभा सदस्य तथा जिल्ला पार्टी सभापति जगदीश्वरनर्सिङ्ग केसी लगाएतका नेता, कार्यकर्ता तथा अभिभावक, विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि केसीले विद्यालयको उन्नति तथा प्रगतिको शुभकामना दिए । उनले देश भ्रष्टाचारको दलदलमा फसेको, दुई तिहाइको नेकपाको सरकारले चरम भ्रष्टाचारमा डुबेको, मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको मिलेमतोमा भ्रष्टाचार संस्थागत भइरहेको तथ्यहरू क्रमशः खुल्दै गएको र हाल निवर्तमान सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाको ७० करोड कमिशन मागेको भिडियो एउटा नमुना मात्र भएको आरोप लगाए । केसीले ७० करोड कमिशन मन्त्रीको मात्रै आँटले सम्भव हुन नसकेको भन्दै त्यसमा केही मन्त्रीहरूदेखि प्रधानमन्त्रीसम्मको संग्लनता हुनसक्ने आशंका व्यक्त गरे ।
विशेष अतिथि पूर्व अर्थमन्त्री एवं नेका केन्द्रीय सदस्य डा.रामशरण महतले विद्यालयको स्तर उन्नति गर्दै योभन्दा पनि थप सुविधा सम्पन्न गराउन सरोकार वाला सबैले जोड दिनु पर्ने बताए । उनले देश दलाल र भूमाफियाको चङ्गुलमा फस्दै गएकोले अब सबै जनता एक भएर जुट्ने बेला अएको बताए ।
अर्का अतिथि पूर्व संविधान सभा सदस्य तथा नेका जिल्ला पार्टी सभापति जगदीश्वरनर्सिङ्ग केसीले विद्यालय प्रगतिको शुभकामना दिँदै भने– अभिभावक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिबीचको त्रिकोणात्मक सम्बन्धले मात्र विद्यालय राम्रो हुने हो । विद्यालयजस्तो पवित्र मन्दिरमा राजनीति संस्कार कहीं कसैले देखाउन नहुने भन्दै विद्मालयको उन्नति, प्रगति र समृद्धि कसरी गर्न सकिन्छ ?, विद्यालयले प्रदान गर्नेे शिक्षालाई कसरी गुणस्तरीय बनाउन सकिन्छ ? यस्ता विषयमा सबैको ध्यान केन्द्रित हुनु पर्नेमा जोड दिए । उनले उक्त विद्यालयलाई आँफू सांसद हुदाँ प्रत्क्षय, अप्रतक्ष्य रूपमा सहयोग गरेको स्मरण गरे र उपस्थित जनसमूदायमा आउँदा दिनहरूमा पनि यथासक्य सहयोग गर्दै जाने विश्वास दिलाए ।