सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि कार्यक्रम सुन्न उपस्थित भएका कार्यकर्ता रतन तिरुवाले जुत्ता हाने । यद्यपि उनले प्रहार गरेको जुत्ता प्रचण्ड भएको स्थान सम्म पुगेन । प्रचण्डलाई जुत्ता प्रहार गर्न व्यक्ति पूर्व माओवादीका कार्यकर्ता समेत थिए ।
तिरुवा पार्टी अध्यक्ष प्रचण्डको भाषण सुन्न राजधानीको भृकुटीमण्डपमा रहेको राष्ट्रिय सभागृह पुगेका थिए । नेकपाका दिवंगत नेता भरतमोहन अधिकारीको स्मृतिमा आयोजना गरिएको कार्यक्रममा प्रचण्डले करिब २० मिनेट भाषण गरेका थिए ।
शुरुवाती केही मिनेट नेता भरतमोहनबारे चर्चा गरेका प्रचण्डले केही वेर वर्गीय कुरा गरेका थिए । पछिल्लो समय पूँजीवादीहरु मध्यमवर्गलाई आफूतर्फ तान्न उद्यत रहेको उनले बताएका थिए ।
लामै समय समाजमा व्यक्ति वर्गको व्याख्या प्रचण्डले गरेका थिए तर प्रचण्डले गरेको वर्गको व्याख्या कार्यक्रम सुन्न पुगेका तिरुवालाई चित्त बुझेन । चित्त नबुझेपछि आफूले जुत्ता प्रहार गरेको उनले प्रहरीसँगको वयानमा भनेका छन् ।
‘प्रचण्डसँग मेरो कुनै दुश्मनी हैन । तर, आइतबारको त्यो कार्यक्रममा उनले गरेको भाषण सुन्दा एक्कासी आक्रोशित भएँ,’ तिरुवाको भनाइ उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘वर्ग संघर्षका विषयमा उनले गरेको विश्लेषणले मलाई रिस उठ्यो । रिस उठेका बेला जुत्ता हान्न पुगेछु ।’
प्रहरीसँगको बयानका क्रममा तिरुवाले आफ्नो पूरै परिवार तत्कालीन माओवादी समर्थित भएको बताएका छन् । तर, आफू भने पछिल्लो समय कुनै पनि राजनीतिक पार्टीमा आवद्ध नभएको उनले बयानमा बताएका छन् ।
बयानका क्रममा उनले आफ्ना बुवा मून तिरुवा पनि तत्कालीन जनयुद्धको क्रममा माओवादी पार्टीमै लाग्दा राज्यपक्षबाट मारिएको बताएका छन् ।