नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ फागुन ।
एनआईसी एशिया बैंकले सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका वडा नं १ स्थित देवीस्थान माध्यमिक विद्यालयलाई फर्निचर सामग्री खरिद गर्नका लागि ३ लाख रूपैयाँ नगद सहयोग गरेको छ । मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले विद्यालयका प्रधानाध्यापक नारायण नेपाललाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।
बैंकको सहयोगले विद्यालयमा अध्ययनरत ४ सय ७६ विद्यार्थीहरू लाभान्वित हुनेछन् । उक्त सहयोगले विद्यालयको डेक्स, बेन्चलगायत आवश्यक शैक्षिक पूर्वाधारमा टेवा पुग्ने बैंकले विश्वास लिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
चेक हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कौशल कोइराला र बैंक व्यवस्थापनका सदस्यहरूको पनि उपस्थिति थियो । बैंकले यसअघि पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ ।