प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको छ। मिर्गौला दाता समीक्षा संग्रौलाको शल्यक्रिया सकिए लगत्तै सफलतापूर्वक प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको डा. प्रेमराज ज्ञवालीले जानकारी दिए ।
मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बुधबार बिहान सबा १० बजे शल्यक्रिया कक्षमा लगिएको हो । चिकित्सकले शल्यक्रिया सम्पन्न गर्न ४ देखि ५ घण्टासम्म लाग्ने बताएका छन् । मिर्गौला प्रत्यारोपण टिममा शिक्षण अस्पतालका अनुभवी चिकित्सकसँगै पहिलो प्रत्यारोपणमा सहभागी तीनजना भारतीय चिकित्सकसमेत रहेका छन् ।
त्रिवि अस्पताल स्रोतका अनुसार २०६४ सालमा भारतमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न सर्जन डा। अनन्त कुमारसहित दुई जना फिजिसियनसमेत सहभागी भएका हुन् । ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा शल्यक्रियामा सहभागी भएका भारतीय चिकित्सक अनन्त कुमार यसअघि नै काठमाडौं आएका थिए ।
प्रधानमन्त्री ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
अस्पतालभित्र शल्यक्रिया भइरहँदा बाहिर नेकपाका नेता कार्यकर्ता, शुभचिन्तक र सर्वसाधरण प्रधानमन्त्रीको सफल शल्यक्रिया र स्वास्थ्यलाभको कामना गरिरहेका छन्। प्रधानमन्त्रीको तस्बिर अंकित प्लेकार्ड प्रदर्शन गरिएका छन् ।
त्रिवि शिक्षण अस्पतालको एनेक्स मेडिकल वार्डमा प्रधानमन्त्री ओलीलाई राखिएको छ । अस्पताल र आसपासमा बुधबार बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । अस्पतालका छतमासमेत सुरक्षाकर्मी तैनाथ छन् ।
त्रिवि शिक्षण अस्पतालको उच्च स्रोतले दिउँसो ४ बजेपछि शल्यक्रिया र प्रधानमन्त्रीको अवस्थाबारे जानकारी दिने बताएको छ ।