बलात्कार अभियोगमा नेकपाका प्रदेश सांसद पक्राउ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अक्कल रावलमाथि बलात्कार अभियोग लागेको छ। जवरजस्ती करणी गरेको आरोपमा एकजना महिलाले जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएपछि अछामबाट निर्वाचित प्रदेश सांसद रावल प्रहरीको हिरासतमा पुगेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कैलालीका प्रवक्ता दक्षकुमार बस्‍नेतका अनुसार सांसद रावलविरुद्ध गत फागुन १४ गते एक महिलाले जवरजस्ती करणी उद्योगमा जाहेरी दिएकी थिइन्।

महिलाको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत कैलालीबाट पक्राउ पूर्जी जारी गराएको थियो । अछामका रावल तत्कालीन नेकपा माओवादी केन्द्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए । तिनै महिलाको उजुरीका आधारमा पक्राउ पूर्जी जारी भएपछि रावल बुधबार प्रहरी कार्यालयमा उपस्थित भएका थिए ।



रावललाई बुधबारै हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको बस्‍नेतले जानकारी दिए । ‘उहाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो’, बस्‍नेतले भने, ‘हामीले भोली अदालबाट म्याद थप गरेर कारवाही अघि बढाउँछौं।’ तर रावलले भने आफूमाथि लागेको आरोप निराधार रहेको तर्क गर्दै आएका छन् । एक प्रहरी अधिकारीका अनुसार रावलले आफूमाथि लागेको बलात्कार अभियोगलाई अस्वीकार गरेका छन् ।

सम्बन्धित समाचार