राजु लामिछाने
काठमाडौं, २२ फागुन ।
गत मंसिरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी सुम्पदै गर्दा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अर्का अध्यक्ष केपी ओलीले सोचेकै थिएनन् कि उनै प्रचण्डले आफूलााई अल्पमतमा पारेर सरकार ढाल्ने योजना बनाउँनेछन् भनेर । तीनमहिनाभित्रै प्रचण्डले पूर्व एमालेकै ओलीइत्तरका नेताहरूको साथ लिएर हरेक निर्णयमा ओलीलाई अल्पमतमा पार्ने र घेराबन्दीमा पार्ने काम गरे ।
ओलीको एकलौटी निर्णयबाट आजित भएका नेकपा वरिष्ट नेताद्वय झलनाथ खनाल र माधव नेपालले ओलीले एकलौटी गर्न भन्दा प्रचण्डलाई अगाडि सारेर ओलीलाई बदला लिन उद्यत देखिए । फलस्वरूप प्रचण्ड र पार्टी उपाध्यथ वामदेव गौतमले सरकार ढाल्नेसम्मको रणनीति तयार पारे । सरकार ढाल्ने योजना अनुरूप नै गौतमलाई राष्ट्रियसभामा पठाउने तयारी गरेको बुझेपछि ओली झस्किए । आफूविरूद्ध भएको घेराबन्दीको सामना गर्ने भन्दै ओलीले नेता नेपाललाई फकाउन शुरू गरेका छन् ।
सरकार बचाउने शर्तमा प्रचण्डलाई कार्यकारी अधिकार
पौने २ वर्षअघि पार्टी एकीकरण गर्दै गर्दा ओलीको चाहना प्रचण्डलाई एमालेमा विलय गराउनु थियो । पार्टी एकीकरणपछि लामो समय उनले प्रचण्डलाई छायामैं पारे । प्रचण्डले आफू छायामा परेको भन्दै आधाआधा कार्यकाल सरकार चलाउने भन्ने मौखिक सहमति पालना गर्न ओलीलाई दबाब दिन थाले । सरकार निर्माणको २ वर्ष पुग्नै लाग्दा आधाआधा कार्यकालका कुरा पूर्व नेकपाकै केही नेताहरूले पनि उक्त मौखिक सहमति पालना हुनुपर्ने आवाज उठाउन थाले ।
विस्तारै सरकारको नेतृत्व प्रचण्डलाई दिनुपर्ने आवाज उठेपछि ओली सरकार ५ वर्ष नै आफै चलाउने रणनीति बुन्न थाले । सोही क्रममा उनले प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने र पार्टी प्रचण्डले र सरकार ५ वर्ष नै आफैले चलाउने प्रस्ताव राखे । प्रचण्ड त्यसमा सहमत भए । तर सहमति भएको ३ महिना पार हुँदै गर्दा आफ्नो प्रभाव बढाउँदै प्रचण्डले नेपाल, खनाल र गौतमलाई साथ लिएर सरकार ढाल्नेसम्मको रणनीति तयार गरे । ओलीलाई पार्टीभित्र नै छायामा पारिदिए ।
नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डलाई राजनीतिक चतुर खेलाडीको रूपमा लिइन्छ । मौका मिल्नासाथ एकले अर्कोको अस्तित्व नै धरापमा पर्ने गरी रणनीति तयार गर्नेगरेको उनीहरूको विगतले प्रष्ट पार्छ । समयसँगै यी दुई राजनीतिक खेलाडी एउटै पार्टीमा रहँदा कतिबेला कसले कसलाई भड्खालोमा हाल्छ भन्ने अनुमान नै लगाउन सकिँदैन । अहिले प्रचण्डलाई बलदा लिन ओलीले भड्खालोमा हाल्ने रणनीति बुनिसकेको नेकपा वृत्तमा चर्चा छ ।
नेपालको ढाडमा टेकेर प्रचण्डको टाउकोमा हान्ने ओलीको रणनीति
राजनीतिमा एउटा उखान निकै चर्चित छ ‘ढाडमा टेकेर टाउकोमा हान्ने ।’ अर्थात् जसमाथि आक्रमण गर्नु छ, उसैको ढाडमा टेकेर उसैको टाउकोमा हान्ने । ओलीले अहिले सोही रणनीति अवलम्बन गर्ने तयारीमा छन् । आफू इत्तरको शक्तिको मेरूदण्ड बनेका माधव नेपाललाई फकाएर नेपालको ढाडमा टेकेर प्रचण्डको टाउकोमा हान्ने ।
गत फागुन ९ गतेको भेटमा ओलीले नेपाललाई वामदेवको लागि किन सती जान लाग्या ? भनेर प्रश्न गरेका थिए । सो प्रश्नको अर्थ थियो गौतमलाई प्रधानमन्त्री बनाउन भन्दा आफै प्रधानमन्त्री बन्ने आधार तयार गर्नू । ओलीले नेपाललाई निर्वाचनपछिको प्रधानमन्त्री बन्ने आधार तयार गर्न भन्दै आफू निकट बनाउने प्रयत्न गरेका थिए ।
प्रधानमन्त्रीदेखि कार्यकारी अध्यक्षसम्मको आश्वासन
बालुवाटार स्रोतका अनुसार ओलीले नेपाललाई निर्वाचनपछि प्रधानमन्त्री बनाउने देखि कार्यकारी अध्यक्ष बनाउनेसम्मको आश्वासन दिएका छन् । प्रचण्डले निहुँ खोज्दै गए नेपाललाई साथ दिएर उनको कार्यकारी अध्यक्षको पदसमेत खोस्ने रणनीति ओलीले बुनेका छन् । ओली र नेपाल मिलेमा यो असम्भव पनि छैन ।
नेपालले पनि पछिल्लो समय मध्यमार्गी बन्ने प्रयास गरेका छन् । विस्तारै उनी ओलीको कित्तामा सरेको स्रोतको दाबी छ । प्रचण्ड र गौतमलाई उचाल्नभन्दा ओलीको साथ लिएर आफैं अगाडि बढ्ने नेपालको तयारी छ । आगामी निर्वाचनपछि प्रचण्डलाई किन प्रधानमन्त्री बनाउने भन्ने ओलीको भनाईमा नेपाल कन्भिन्स भएका छन् । भविष्यलाई सोचेर नेपाल अहिलेदेखि नै मध्यमार्गी बन्दै ओली र प्रचण्डसँग समदुरी बढाएर अगाडि बढेने तयारीमा छन् । यदि नेपालले प्रचण्ड र गौतमलाई साथ नदिएमा ओली सरकार ढाल्न प्रचण्डलाई फलामको चिउरा चपाउनुसरह हुनेछ ।