कोरोना भाइरसको संत्रास– ईपीएल क्रिकेट स्थगित

कारोनाको त्रासले हरक्षेत्रमा प्रभाव पारेको छ, चाहे त्यो शिक्षा क्षेत्र होस्, नेपाल भ्रमण वर्ष होस्, फिल्म रिलिज गर्ने सन्दर्भमा होस् वा खेलकुद । यसै सन्दर्भमा चैत १ गतेदेखि १५ गतेसम्म आयोजना हुने भनिएको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट कोरोना भाइरसका कारण स्थगित भएको छ ।

आयोजक एभरेष्ट प्रिमियर लिगले विहीवार (आज) पत्रकार सम्मेलन गर्दै ईपीएल अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जनाएको हो । ईपीएलका लागि १२ देशका खेलाडीसँग सम्झौता भइसकेको र सात महिनायता तयारी गरिरहेको भएपनि विश्वका धेरै देशमा कोरोना फैलिएको र नेपाल पनि उच्च जोखिममा रहेका कारण कार्यक्रम स्थगित गर्न लागिएको आयोजकले जनाएको छ ।



सरकारले ठूला जमघट, भेला र कार्यक्रमहरु नगर्न आग्रह गरिरहेको सन्दर्भमा कार्यक्रम स्थगित गरिएको हो । ‘संघ, खेलाडी र सबै निकायसँग कुरा भइसकेपछि ईपीएल सार्ने योजना बनाएका हौं’आयोजकले भने,‘अर्को सूचना नआएसम्मका लागि प्रतियोगिता सारिएको हो ।’

ईपीएलमा विश्वचर्चित क्रिकेट खेलाडीहरु सहभागी हुने तय भएको थियो । क्रिस गेल, डाइन स्मिथ, हासिम अम्ला लगायतका खेलाडी ईपीएलमा सहभागी हुने भएका थिए ।

सम्बन्धित समाचार