कोरोनाको संक्रमण देखिएपछि अमेरिकाको मेरिल्याण्ड राज्यमा संकटकाल !

अमेरिकाको मेरिल्याण्ड राज्यमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । अमेरिकी सञ्चार माध्यमहरुले मेरिल्याण्डका गभर्नर ल्यारी हेगनको हवला दिँदै ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको समाचार प्रकाशित गरेका छन्।

गभर्नर हेगनले पत्रकार सम्मेलन नै गरेर बाल्टिमोरमा गरिएको स्वास्थ्य परीक्षणमा तीनजनामा कोरोना पोजेटिभ रिपोर्ट देखिएको बताएका छन् । संक्रमितहरु विदेश भ्रमणबाट आएको बताइएको छ । दुईजना दम्पत्ति हुन् भने एकजनाको उमेर ५० को हाराहारीमा रहेको बताइएको छ।



राज्यमा कोरोना भाइरसको संक्रमण देखिएपछि मेरिल्याण्ड राज्यमा संकटकाल घोषणा गरिएको छ । अमेरिकामा यसअघि पनि कोरोनाको संक्रमण देखिसकेको छ ।

विश्वभर फैलँदै गएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ८३ पुगेको छ । विश्वका ८४ देशमा फैलिएको कोरोनाको संक्रमणबाट ९७ हजार ८ सय ५२ जना संक्रमित रहेको समाचार संस्था सीएनएनले जनाएको छ ।

चीनको वुहान प्रान्तबाट फैलिएको कोरोनाका कारण चीनमा मात्रै ३ हजार ४२ जनाले ज्यान गुमाएका छन् । चीनमा मात्रै संक्रमित हुनेको संख्या पनि सबैभन्दा धेरै अर्थात ८० हजार ५ सय ३२ छ ।

चीन बाहेकका १४ देशमा ३ सय ४१ जनाले ज्यान गुमाएका छन् । बेलायतमा पनि एकजनाको कोरोनाकै कारण ज्यान गएको छ ।

कोरोनाकै कारण अमेरिकामा मात्र ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

सम्बन्धित समाचार