सरकारलाई सफल बनाउनु अहिलेको कार्यभार : प्रवक्ता श्रेष्ठ

नेपाल कम्युनष्टि पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारलाई सफल बनाउनु अहिलेको केन्द्रीय कार्यभार भएको बताएका छन् । प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश कमिटीको प्रथम भेला एवं शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले समाजवाद निर्माणको आधार तयार गर्न सरकारलाई हरहालतमा सफल बनाउनुपर्ने बताए ।

‘सरकारलाई सफल नबनाइए जनतामा निरासा छाउँछ, मुलुकको सामाजिक र आर्थिक रुपान्तरण हुन सक्दैन, वैदेशिक हस्तक्षेप वृद्धि र प्रतिगमनमा खतरा उत्पन्न हुनसक्छ’, उनले भने । प्रवक्ता श्रेष्ठले पार्टीलाई विग्रहमा लैजाने वा एकतालाई खलबलाउने कुनै पनि कुरा छुट दिन नहुने भन्दै सरकारले सुशासन र विकासमार्फत समाजवादको आधार तयार गर्नुपर्नेमा जोड दिए ।



उनले यसका लागि वस्तुपरक र अध्ययनशील पत्रकारिता गर्न पत्रकारलाई आह्वान गर्दै मुलुकको रुपान्तरण तथा विभिन्न चरणमा भएका परिवर्तनकारी आन्दोलनमा पत्रकारले खेलेका भूमिका असाधारण रहेका चर्चा गरे । पार्टी र सरकारलाई तीव्रगतिका साथ अघि बढाउन सक्षम भई मुलुक रुपान्तरणका लागि सक्रिय हुनुहुनेमा विश्वास व्यक्त गर्दै उनले सूचना प्रविधिको विकाससँगै अझ बढी प्रेस जगतको आवश्यकता बढेको जनाए ।

सामाजिक न्यायसहितको समृद्धिको लक्ष्य पूरा गर्न पार्टी एकता भएको उल्लेख गर्दै उनले रणनीतिक समाजवादको आधार तयार गर्नु नै अहिले पार्टीको मुख्य कार्यभार रहेको उनको भनाइ थियो । उनले जनताको बहुदलीय जनवाद र २१औं शताब्दीको जनवादको विचारलाई हाल थाति राखी समाजवादोन्मुख जनताको जनवादलाई कार्यक्रमका रुपमा अघि सारको स्पष्ट गरे ।

सम्बन्धित समाचार