मन्त्रिपरिषद् विस्तारको तयारी: रावललाई परराष्ट्र, ज्ञवालीलाई सञ्चार

चिकित्सकहरुले दिएको जानकारीअनुसार नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अस्पतालबाट डिस्चार्ज हुनेछन् । गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाले शुक्रबारसम्ममा डिस्चार्ज गर्ने तयारी छ । तर अस्पतालबाट स्वस्थ भएर निस्कन लागेका ओलीलाई वर्तामान राजनीतिक जटिलताले फेरि एकपटक गिजोल्ने निश्चित छ ।

उपसभामुख चयन प्रक्रिया, एमसीसी पारित, मन्त्रिपरिषद् पुनर्गठन र सचिवालय निर्णयलगायतका कामलाई अलपत्र छोड्दै ओली मिर्गौला प्रत्यारोपणमा लागेका थिए । उनको मिर्गौला प्रत्यारोपणको काम त सफल भएको छ । तर चौतर्फी विरोध भैरहेको एमसीसी र विवादमा बेरिएको सचिवालय निर्णय र पार्टीको आन्तरिक विवाद मिलाउने काममा पनि उनी सफल होलान् ? यो प्रश्न टड्कारो रूपमा उब्जिएको छ ।



परिणम आफू अनुकुल नआउने देखिएपछि निर्णय कार्यन्वयनमा उदासिने हुने प्रवृत्ति पछिल्लो समय ओलीमा देखिन्छ । सभामुख चयन प्रक्रियालाई उनले झण्डै ३ महिना लम्ब्याए । उपसभामुख चयनमा उनी उदासिन देखिएका छन् । एमसीसी प्रकरण होस् या गोकुल बाँस्कोटा काण्ड, उनी बेवास्था गर्दै अगाडि बढेका छन् । गोकुलले भ्रष्टाचार गरेको प्रमाणित नभएको भन्दै उनले सार्वजनिक रूपमै बचाउ गरिसकेका छन् । चर्चा त अब हुने मन्त्रिपरिषद् विस्तारमा उनले बाँस्कोटालाई पनि सहभागी गराउने तयारी गरेको सुनिएको छ । तत्काल यो हदसम्मको हर्कत उनले नगरे पनि कालन्तरमा उनलाई निर्दोष सावित गर्दै पुन मन्त्री पदमा विराजमान नगराउलान् भन्न सकिन्न ।

अस्पतालमै रहेका बेला ओलीले राजीनामा दिएका अर्थमन्त्री युवराज खतिवडालाई पुनः अर्थमन्त्रीमा नियुक्त गराए । तर अस्पताल भर्ना हुनुभन्दा १ साता अगाडि पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिवाट मनोनित गरेर राष्ट्रियसभामा पठाउने निर्णयको उनले आजको दिनसम्म पनि बेवास्था गरेका छन् । अस्पतालबाट डिस्चार्ज भएपछि पनि ओलीको प्राथमिकताका यो निर्णय परेको छैन । स्रोतका अनुसार उनी सचिवालयको निर्णयको बेवास्था गर्दै मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेका छन् । अस्पतालबाटै फोनमा उनले केही आफू निकट नेताहरूसँग मन्त्रिपरिषद् विस्तारबारे परामर्श लिइरहेका छन् ।

प्रचण्डसँग छलफलै नगरी मन्त्रिपरिषद् विस्तारको तयारी
स्रोतका अनुसार पछिल्लो समय ओली र नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्बन्ध ३६ को आँकडामा पुगेको छ । पार्टी उपाध्यक्ष गौतमलाई उचालेर सरकार ढाल्ने तयारी प्रचण्डले गरेको ओलीको आरोप छ । पार्टीका आफू इत्तरका नेताहरुलाई उचालेर आफूलाई अल्पमतमा पारेपछि प्रचण्डसँग ओली रुष्ट भएका छन् । पार्टीका वरिष्ठ नेता माधव नेपाललाई हात लिएर प्रचण्डसँग बदला लिने मनासयमा ओली पुगेको स्रोतको दाबी छ ।

प्रचण्डलाई अल्पमतमा पारेर दिइएको कार्यकारी अध्यक्षको पद पनि खोस्ने तयारीमा ओली पुगेको चर्चा छ । त्यसैले पनि ओली प्रचण्डसँग सल्लाह नै नगरी नेपालको समर्थनमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेको चर्चा छ । यसका लागि उनले भीम रावलसँग पनि परामर्श लिएको स्रोतको दाबी छ । पछिल्लो समय पार्टीमा अल्पमतमा परेपछि नेपाललाई फकाएका ओलीले भीम रावललाई पनि मन्त्री बनाएर आफ्नो कित्तामा ल्याउन चाहेका छन् ।

रावललाई फकाउनुमा ओलीको २ स्वार्थ लुकेको पाइन्छ । पहिलो त उनी रावललाई आफ्नो कित्तामा उभ्याएर सचिवालयमा प्रचण्डलाई अल्पमतमा पार्न चाहन्छन् । दोस्रो कुरा एमसीसीसँग जोडिएको छ । एमसीसीको चर्को विरोध गरिरहेका रावललाई मन्त्री बनाएमा एमसीसी पास गर्न सहज हुने ओलीको बुझाइ छ ।

रावललाई परराष्ट्र, ज्ञवालीलाई सञ्चार
एमसीसी पास गर्न सघाउने शर्तमा ओलीले रावललाई परराष्ट्रमन्त्री बनाउने तयारी गरेको स्रोतको दाबी छ । यता परराष्ट्र मन्त्रालय सम्हालिरहेका प्रदीप ज्ञवालीलाई सञ्चार मन्त्रालयमा तान्ने ओलीको तयारी छ । मिजासिला र सरल ज्ञवालीलाई सञ्चारमा तान्दा सञ्चारगृह र पत्रकारसँग बिग्रिएको सम्बन्ध सुधार्न सहज हुने ओलीको बुझाइ छ ।

त्यसैगरी नेता विरोध खतिवडा र यदुराम भूषाललाई पनि मन्त्रिपरिषदमा सहभागी गराउने तयारी ओलीले गरेका छन् । कार्यसम्पादन कमजोर रहेका केही पुराना मन्त्रीहरूको विदाइ गरी केही नयाँ नेतालाई अवसर दिने ओलीको तयारी छ । अस्पतालबाट बाहिरिएलगत्तै ओलीको पहिलो प्राथमिकता मन्त्रिपरिषद् विस्तार नै रहेने स्रोतको दाबी छ ।

सम्बन्धित समाचार