विश्वभर कोरोना भाइरसका कारण विश्वका ११० मुलुकमा कोरोना भाइरसको संक्रमण देखा परिसकेको छ । यसका कारण ४ हजारभन्दा धेरै मानिसहरुको ज्यान समेत गइसकेको छ । अमेरिकामा सोमबार थप चार जनाको ज्यान गएसँगै त्यहाँ मृतकको संख्या २६ पुगेको छ ।
अमेरिकामा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि कामहरु भइरहेका बेला ह्वाइट हाउसले भने राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कारोना भाइरसको परीक्षण नै नगराइएको जनाएको छ । ह्वाइट हाउसकी प्रवक्ता स्टेफनी ग्रिसमले विज्ञप्ति जारी गर्दै राष्ट्रपति ट्रम्पलाई कोरोना भाइरसको परीक्षण नगराइएको जनाएकी हुन् ।
राष्ट्रपति ट्रम्पले कोरोनाको कुनै लक्षण नदेखाएको र संक्रमण पुष्टि भएका कसैसँग भेट नै नगरेका कारण उनको स्वास्थ्य परीक्षण गर्नु नपरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि ट्रम्पसँग भेट गरेका दुई जनालाई कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएको थियो ।
विज्ञप्तिमा ट्रम्पको स्वास्थ्य अवस्था राम्रो रहेको र उनलाई चिकित्सकहरुले नियमित परामर्श दिइरहेको समेत जनाइएको छ ।