कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाम्फेले जनताको चाहनालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम बनाएर अगाडि बढ्न जनप्रतिनिधलाई आग्रह गरेकी छिन् । खोटाङको दिक्तेलमा आज आयोजित कार्यक्रममा मन्त्री तुम्बाहाम्फेले स्थानीय तहका जनप्रतिनिधि जनतासँग सिधा सम्पर्कमा हुने भएकाले जनचाहनाअनुसार काम गर्न आग्रह गरिन् ।
‘जनताको आशा र भरोसा स्थानीय तहका जनप्रतिनिधिमाथि रहेको छ’, उनले भनिन्, ‘उनीहरुको चाहनालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम बनाएर अगाडि बढ्नुहोस् ।’
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रकाशन गरेको ‘कानून सङ्ग्रह भाग–१’ सार्वजनिक गर्दै मन्त्री तुम्बाहाम्फेले जनप्रतिनिधिलाई सहयोग गर्न राष्ट्रसेवक कर्मचारीलाई समेत निर्देशन दिइन्। ‘सबैको सहकार्यबाट मात्रै सरकारले अवलम्बन गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सकिन्छ’, उनले भनिन्, ‘समृद्ध देश र सुखी नेपालीको चाहना पूरा गर्न सबै एकताबद्ध हुनुपर्छ ।’
नेपालको संविधान परिवर्तनशील रहेको भन्दै मन्त्री तुम्बाहाम्फेले समय र परिस्थितिअनुसार संशोधन गर्दै जाने बताइन् । ‘हाम्रो संविधान ढुङगाले लेखिएको अक्षर हैन । संशोधन गर्न सकिन्छ’, उनले भनिन्, ‘परिवर्तनशील छ भन्दैमा कुनै समूह अथवा व्यक्तिको स्वार्थपूर्ति गर्नका लागि परिमार्जन हुँदैन ।’