प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएपछि आजै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको हो । प्रधानमन्त्रीको निजी चिकित्सक डा। दिव्या सिंह शाहका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएकाले डिस्चार्जको सम्भावना रहेको बताइन् ।
‘उहाँको स्वास्थ्य राम्रो छ’ डा शाहले भनिन्,‘ हेरेर पठाउन मिल्ने भयो भने आज पठाइन्छ ।’ तर मंगलबार प्रधानमन्त्रीलाई अझै केही दिन अस्पतालमा नै राख्ने जनाइएको थियो ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जानकारी गराउन नियमति रुपमा दिउँसो चार बजे आयोजना गरिने गरिएको पत्रकार सम्मेलन पनि आज केही ढिला गरि हुने उनले जानकारी दिइन् । प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएपनि सार्वजनिक कार्यक्रम र व्यक्तिहरुसँगको भेटघाट गर्न नमिल्ने चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवासमा नै प्रधानमन्त्री ओलीका लागि आइसोलेसन वार्डको तयारी गरिएको बताइएको छ ।
प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी समीक्षा संग्रौलालाई पनि अस्पतालले आजै डिस्चार्ज गरेको छ । उनको स्वास्थ्य अवस्था राम्रो भएका कारण डिस्चार्ज गरिएको डा शाहले जानकारी दिइन् । डिस्चार्ज हुनुअघि प्रधानमन्त्री ओली र संग्रौलाबीच भेट भएको छ ।