राप्रपाको एकता घोषणा सभा : कार्यकर्ताको नाराबाजी, लिङ्देनको प्रश्न र तीन अध्यक्षको गीता छोएर कसम

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको एकता घोषण सभा बुधबार सम्पन्न भएको छ । काठमाडौंको सभागृहमा आयोजित घोषणा सभाकोे समय दिउँसो १२ बजेको लागि तोकिएको भए पनि एक घण्टा ढिलो गरि शुरू भएको थियो ।

कार्यक्रममा अध्यक्षहरु भन्दा अगाडि पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द उपस्थित भएका थिए । करिब पौने एक घण्टा ढिला गरि राप्रपाका तीन जना अध्यक्ष (कमल थापा, पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनी) सँगै उपस्थित भएका थिए ।



भेलाको शुरूमै राष्ट्रिय गीत त्यसपछि राप्रपा पार्टीको गीत गुञ्जीएको हलमा पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरेर एकता घोषणा सभा शुरु गरिएको थियो । त्यसपछि अध्यक्षद्वय बीच पार्टी एकताको आधारपत्र आदान प्रदान गर्दा कार्यकर्ताहरूले भने आफूहरूले नेताहरूबाट पटक पटक धोका पाइसकेकोले गीता छोएर कहिल्यै पनि पार्टी फुटाउँदैनौ भनेर कसम खानुपर्ने भन्दै नाराबाजी गरे ।

 

राप्रपाका नेता दिपक बोहोराको स्वागत मन्तव्यपछि राजेन्द्र लिङ्देन र त्यसपछि पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सम्बोधन गरे । सम्बोधनका क्रममा लिङ्देनले राप्रपाले नै सघाएर नेकपाले एक दर्जन सिट र कांग्रेसले दुई दर्जन सिट जितेको दाबी गरे । राप्रपालाई पटक पटक नफुटाएको भए र आफ्नौ अहमको जाँतोमा हामीलाई नपिस्नु भएको भए तपाई मध्ये कुन चाही प्रधानमन्त्री हुन बाँकी रहनुहुन्थ्यो भनि तीन अध्यक्षलाई लिङ्देनले प्रश्न गरे । लिङ्देनको प्रश्नले कार्यकर्ताहरूबाट हलभरी हुटिङ र तालीको गडगडाहाट भयो ।

 

‘तपाईहरूको अहमको जाँतोमा सबै भन्दा बढी मेरो पुस्ता पिसिएको छ’ लिङ्देनले भने । उनले अगाडि थपे ‘सबैभन्दा देशले धोका पाएको छ, धर्मले धोका पाएको छ । तपाई सिद्धान्तमा जुधेको हो र ? स्वार्थमा जुधेको हो । तपाई नजुधेको भए, तपाई नफुटेको भए, हामीलाई तपाई आफ्नो गाईवस्तु जस्तो लुरूलुरू पछाडि हिड्ने नबनाएको भए, आज देशमा गणतन्त्र आउँथ्यो ? यो लडाई लड्नु पथ्र्यो ? अब यो तपाइहरूको लागि अन्तिम अवसर हो ।’

 

त्यसपछि एकता घोषणा सभामा तीनै अध्यक्ष थापा, लोहनी र जबराले क्रमशः सम्बोधन गरे । तीन जना अध्यक्षले पार्टी एकता देशको वर्तमान आवश्यकता, जनता र कार्यकर्ताको चाहाना भएको बताएका थिए । अध्यक्षहरूमा सबैभन्दा अगाडि बोलेका थापाले नेताले मात्र नभइ पार्टी फुटाउँदिन भनेर सबै कार्यकर्ताले पनि प्रतिवद्धता जनाउनुपर्ने बताए । सम्बोधनका क्रममा भागवत गीतको पुस्तक खल्तीबाट निकाल्दै थापाले भने, ‘पार्टीलाई मायाँ गर्ने साथीलाई साक्षी राखेर प्रतिज्ञा गर्दछु, म कहिल्यै पनि पार्टी फुटाउने छैन । तपाईंहरूलाई विश्वास लागेन ? मैले गीता ल्याएको छु । यो गीता हातमा राखेर म भन्छु, राप्रपा अब कहिले फुट्दैन ।’ त्यसपछि थापाले आफूले समातेको पुस्तक अर्का दुई अध्यक्ष पशुपति शम्शेर जबरा र डा. प्रकाश चन्द्र लोहनीलाई समेत चाहिन्छ भन्दै ड्यासमै छोडेका थिए । त्यसपछिका दुवै जना अध्यक्षले पनि गीता छोएर पार्टीलाई नफुटाउने प्रतिबद्धता गरेका थिए ।

सम्बन्धित समाचार