प्रधानमन्त्रीलाई संक्रमण, थप उपचारको लागि सिंगापुर लैजानेबारे विमर्श हुँदै

मिर्गौला प्रत्यारोपण गरेको आठौं दिन प्रधानमन्त्री केपी शर्मा ओलीको पिसाबमा संक्रमण भएको आशंका गरिएको छ । चिकित्सक टोलीलाई क्लेबसेला ब्याक्टेरियाको संक्रमण भएको शंका लागेसँगै पिसाबको कल्चर गर्न पठाइएको छ । कल्चरको रिपोर्ट आउन कम्तीमा ४८ घण्टा लाग्नेछ । चिकित्सकहरू ओलीको थप उपचार कहाँ र कसरी सहज हुन्छ भन्नेमा छलफमा नै छन् । कल्चर रिपोर्टको आधारमा थप निर्णय लिइने अस्पताल स्रोतले जनाएको छ ।

ओलीको विस्तृत स्वस्थ्य रिपोर्ट सार्वजनिक नगरिएकोले उनको स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजी भैरहेका छन् । केही मिडियाहरूले उनको थप उपचारको लागि सिंगापुर लैजाने तयारी भैरहेको बताएका छन् । यद्दपि प्रधानमन्त्रीका प्रेस सल्लाहाकारले भने यसको खण्डन गरेका छन् । उनले प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै समस्या नभएकोले छिट्टै डिस्चर्ज हुने बताउँदै आएका छन् । त्यसो त सल्लाहाकार थापालाई चिकित्सकहरूलाई विस्तृत रिपोर्ट सार्वजनिक नगर्न दबाब दिएको आरोप पनि लाग्ने गरेको छ ।



बुधबार प्रधानमन्त्रीका प्रेस सल्लाहकार र चिकित्सकहरूको कुरा बाझिएकाले ओलीको स्वास्थ्यसम्बन्धी आएका अधिव्यक्तिहरूमाथि आशंका गर्ने आधार सिर्जना भएको छ । प्रधानमन्त्रीका निजी चिकित्सक प्राडा दिव्यासिंह शाहले ओलीलाई हाल संक्रमण हुने जोखिम उच्च रहेको स्वीकार गर्दै पिसाब कल्चर गर्न पठाइएको जानकारी दिइन् । उनका अनुसार विहीबार परीक्षणको रिपोर्ट आएपछि मात्र थप केही भन्न सकिन्छ । संक्रमणको प्रकृति हेरेर थप उपचारको योजना बन्ने उनको भनाइ रहेको थियो ।

चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई पहिला पनि ‘क्लेबसेला ब्याक्टेरिया’ को संक्रमण देखिएकाले अहिले शरीरको रोग प्रतिरोधात्मक क्षमता कम भएका बेला त्यो फेरि फर्किने सम्भावना प्रबल रहन्छ । उनलाई त्यसबेला ‘पिपेरासिलिन–ट्याजोब्याक्टम’ नामक एन्टिबायोटिक प्रयोग गरिएको थियो । थप उपचारको लागि सिंगापुर लैजाने तयारीका बारेमा भने अस्पताल स्रोतले कुनै जानकारी दिएको छैन ।
प्रधानमन्त्री अस्पतालमै आराम गरिहँदा राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने केही मुद्दा भने अलपत्र परेका छन् । नेकपाकै सचिवालयको निर्णय, उपसभामुख चयन प्रक्रिया, एमसीसी अनुदान र कोरोना भाइरसबारे सरकारी तयारीजस्ता मुद्दा प्रधानमन्त्रीको अनुपस्थितिले अलपत्र परेका छन् ।

सम्बन्धित समाचार