सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको गुरुयोजनाअनुसार नै आधुनिकीकरणको काम भइरहेको जानकारी दिएका छन् । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उनले हवाई यातायात क्षमता अभिवृद्धिको परियोजनाबाट अहिलेको धावन र ट्याक्सीमार्गको पुनर्निर्माणको काम सम्पन्न भएको बताए ।
‘टर्मिनल भवन तथा धावनमार्ग विस्तारको काम भइरहेको छ, अन्तरराष्ट्रिय विमानस्थलतर्फ पार्किङ निर्माण अन्तिम चरणमा पुगेको छ, थप केही पार्किङ विस्तार गरेका छौँ, यसबाट जहाजलाई होल्ड गर्नुपर्ने समस्या केही हदसम्म हटाउन योगदान पुर्याउनेछ’, मन्त्री भट्टराईले भने ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्ट बनाउने योजनाअनुसार अधिकांश काम सम्पन्न भएको जानकारी दिँदै उनले बाँकी काम छ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको बताए । ‘विमानस्थलभित्र र बाहिर विभिन्न भाडामा रहेका पसल, लाउञ्ज र रेष्टुरेन्टको नियमित भाडा उठाउन ताकेता भइरहे पनि केही अप्ठेरो परिस्थिति पनि देखिएको छ, कतिपय पसल र कबल अदालतमा गएर स्टेअर्डरबाट सञ्चालनको अवस्था छ, यस्ता विषयमा अदालतबाट छिटो निर्णय आइदियो भने काम गर्न सजिलो हुनेछ’, मन्त्री भट्टराईले भने ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नति, निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणलगायत अन्य पूर्वाधार निर्माणका विषयमा समितिले दिएको निर्देशन कार्यान्वयन सम्बन्धमा मन्त्री भट्टराईले समितिसमक्ष जानकारी दिए । काठमाडौं उपत्यकाको भौगोलिक अवस्थितिले अर्को अन्तरराष्ट्रिय विमानस्थल बनाउन सकिने सम्भावना नरहेको बताउँदै उनले भने, ‘अहिलेकै धावनमार्गबाट काम चलाइरहनुपर्ने, दिनदिनै उडान र यात्रुु सङ्ख्या थपिँदै जाने, हाम्रो भौतिक संरचना जहाँको त्यही रहने हो भने आकाशमा जहाज होल्ड हुने समस्या भइरहन्छ, अहिलेको अवस्थामा सुधारका निम्ति नयाँ ट्याक्सी वे निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइसकेका छौं, यो काम दुई वर्षभित्रमा सम्पन्न हुन्छ, त्यसले जहाज होल्डको केही समस्या हल गर्छ ।’
थप पार्किङ क्षेत्र बढाउन ठेक्काको काम शुरु भएको तथा अहिलेको अन्तरराष्ट्रिय टर्मिनल भवनलाई आन्तरिक भवनका रुपमा रुपान्तरण गरी एक लाख स्क्वायर क्षमताको नयाँ टर्मिनल भवन निर्माण प्रक्रिया अघि बढाइएको पनि बैठकमा जानकारी दिइयो ।