नेपाल प्रेस युनियले कोरोना संक्रमणका समयमा रातदिन खटिने पत्रकारको राहतका लागि विशेष प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ ।
नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले सोमबार एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी सुरक्षाका आवश्यक उपकरण र सामग्रीको अभावमा जीवनको जोखिम मोलेर सूचना संकलन र सम्प्रेषणमा तल्लीन रहेकाले उनीहरुको राहतका लागि विशेष प्याकेजको घोषणा गर्न सरकारसँग माग गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘मोफसल र दूरदराजमा रहेर आमजनतालाई सूचना प्रवाह गरिरहेका पत्रपत्रिका, एफएम रेडियो र अनलाइनमात्र होइन ठूला सहरबजार र राजधानीका सञ्चारमाध्यम पनि अत्यावश्यक सामग्रीको अभाव र कठिनाइ तथा कोरोना भाइरसको संक्रमणप्रति आफैं सजग भएर अहिले केही छापामाध्यम बन्द अवस्थामासमेत छन् ।’
यसले न्यूनतम पारिश्रमिकका भरमा जीवन गुजारा गरिरहेका श्रमजीवी पत्रकारको चुलो नै बन्द हुने अवस्था एकातिर छ भने अर्कोतिर त्यस्ता सञ्चारमाध्यमहरुलाई पनि आगामी दिनमा कसरी उकासिने भन्ने चिन्ता थपिएको छ । सुचारु रहेका सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी पनि सुरक्षाका आवश्यक उपकरण र सामग्रीको अभावमा जीवनको जोखिम मोलेर सूचना संकलन र सम्प्रेषणमा तल्लीन छन् । यस्तो अवस्थामा तत्काल सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि राहत पुर्याउने विशेष प्याकेजको घोषणा गर्न प्रेस युनियन सरकारको ध्यानाकर्षण गराउँदछ।”
प्रेस युनियनले यस संक्रमण अवधिका लागि श्रमजीवी पत्रकार र सञ्चारमाध्यमका लागि विशेष आर्थिक सहुलियतको योजना ल्याउन र उक्त राहत प्याकेजमा सञ्चारमाध्यमको नवीकरण शुल्क र करमा छुटलगायत प्रक्रिया पनि समावेश गर्न सरकारलाई सुझाव दिएको छ ।
दैनिक फिल्ड र कार्यालयमा कार्यरत सञ्चारकर्मीका लागि पनि कोरोना भाइरसको संक्रमणबाट सुरक्षाका लागि आवश्यहक स्वास्थ्य सामग्री तत्काल उपलब्ध गराउन र आकस्मिक उद्धारको व्यवस्था गर्नसमेत प्रेस युनियनले माग गरेको छ।
सञ्चारकर्मी र सञ्चारमाध्यमलाई आफू सुरक्षित रही महामारीको यस विषम परिस्थितिमा सत्य, तथ्य र आधिकारिक सूचनामा आधारित समाचार सामग्रीमात्र सम्प्रेषण गर्न समेत आग्रह प्रेस युनियनले आग्रह गरेको छ।
त्यसैगरी दैनिक ज्यालामजदुरी गरेर खाने वर्गलाई सरकारले राहतको विशेष प्याकेजको घोषणा गर्न लागेको भन्ने विषयप्रति प्रेस युनियनले धन्यवाद दिएको छ ।