सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले चिकित्सा सामग्री खरिद प्रकरणमा बदमासी गरेको ठहरिए हदैसम्मको कारबाही गर्ने बताएका छन् । एक अनलाइन पत्रिकासँगको कुराकानीमा खनालले लकडाउनमा घरभित्रै बसेकाले आफूले अध्ययन गर्न नपाएकाले थप टिप्पणी गर्न सक्ने अवस्था नरहेको बताए ।
‘लकडाउनले गर्दा घरमै छु । बाहिर निस्कने अवस्था छैन । पार्टी कमिटीको बैठक बस्ने अवस्था छैन । अनियमितता भएको छ भन्ने समाचार सुनेको छु । तर विस्तृत बुझ्न पाएको छैन,’ उनले भने । अनियमितता भए पार्टीले कस्तो एक्सन लिन्छ भन्ने जिज्ञासामा उनले विपतको बेला भ्रष्टाचार गरेको प्रमाणित भए हदैसम्मको कारबाही गरिने बताए ।
‘चिकित्सा सामग्री खरिदमा अनियमितता भएको रहेछ भने हदैसम्मको कारबाही गर्छौं । भ्रष्टाचार नै गरेको रहेछ भने त्यस्तालाई झुन्ड्याउनुपर्छ,’ उनले भने ।