बेलायतका प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएका छन् । आइतवार साँझ उनलाई लक्षणहरू उस्तै देखिएको, तापक्रम पनि रहेको र थप असहज भएपछि लन्डन अस्पतालमा पुर्याइएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ ।
उनका डाक्टरको सुझावपछि यो कदम चालिएको बताइएको छ । डाउनिङ्ग स्ट्रीटले निकालेको विज्ञप्तिअनुसार चिकित्सकको सल्लाहमा प्रधानमन्त्री आज राति परीक्षणका लागि अस्पताल भर्ना भएको जनाएको छ ।
सरकारको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् तर सोमवार बिहान हुने कोरोना भाइरससम्बन्धी बैठकको अध्यक्षता भने विदेशमन्त्रीले गर्ने बताइएको छ। कोरोनाको संक्रमण देखिएका प्रधामन्त्री जोनसन क्वारेन्टाइनमा बसेका थिए।